थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित

काठमाडौं– आइसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनको साँघुरो अन्तरले पराजित भएको छ।
इंग्ल्यान्डले दिएको १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमै समेटियो। अन्तिम ओभरसम्म पुगेको खेल अत्यन्तै रोमाञ्चक बने पनि नेपाल जित नजिक पुगेर रोकियो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। लोकेश बमले २० बलमा अविजित ३९ रनको आक्रामक पारी खेले भने कप्तान रोहित कुमार पौडेलले पनि ३९ रन जोडे। ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रन बनाएर राम्रो सुरुआत दिलाएका थिए।
इंग्ल्यान्डको बलिङतर्फ लियम डभनसनले २ विकेट लिए भने जोफ्रा आर्चर, विल ज्याक्स र ल्यूक वुडले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। इंग्ल्यान्डका लागि जेकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए। कप्तान ह्यारी ब्रुकले चार चौका र तीन छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय पारी खेले।
यस्तै विल ज्याक्स ३९ रनमा अविजित रहे भने जोस बटलरले २६ रन बनाए।
नेपालका बलरमध्ये दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए। सन्दीप लामिछाने र शेर मल्लले एक–एक विकेट हात पारे।
चार रनले पराजित भए पनि बलियो इंग्ल्यान्डविरुद्ध नेपालको प्रदर्शन प्रशंसनीय देखिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE