फेसबुक र टिकटक हेरेर निर्णय नगर्नुस् : अध्यक्ष लिङदेन
निर्वाचनले देशको भविष्य तय गर्छ, सामान्य चुनावको रूपमा नलिन आग्रह

काठमाडौं, माघ २५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आगामी निर्वाचनलाई सामान्य आवधिक निर्वाचनको रूपमा नलिन आम मतदातालाई आग्रह गरेका छन्।
काठमाडौंमा आयोजित जिल्लाका उम्मेदवारहरूको परिचय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले मुलुक गम्भीर संकटको मोडमा रहेको र निर्वाचनले देशको भविष्य निर्धारण गर्ने बताए। उनले राप्रपाले सुरुदेखि नै राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ राष्ट्रिय सम्झौताको आवश्यकता औँल्याउँदै आएको स्मरण गराए।
‘हामीले चुनावअघि नै देशअनुकूल मौलिक व्यवस्था निर्माण गर्न सुझाव दिएका थियौँ,’ उनले भने, ‘तर जबर्जस्ती रूपमा देशलाई चुनावतर्फ धकेलियो। प्रजातान्त्रिक पार्टी भएकाले हामीले यस अवस्थालाई उपयोग गर्ने निर्णय गरेका छौँ।’
मतदानको महत्व प्रस्ट पार्दै अध्यक्ष लिङदेनले भोट हाल्ने निर्णय फेसबुक, रिल वा टिकटक हेरेर गर्न नहुने बताए। ‘यो हात काटेर आफ्नो शक्ति हस्तान्तरण गर्ने निर्णय जस्तै हो,’ उनले भने।
छोरी विवाहसँग तुलना गर्दै उनले भने, ‘हामी छोरी दिँदा कति पटक सोच्दछौँ—कुटुम्बको पृष्ठभूमि, आचरण र योग्यता जाँच्छौँ। एउटा छोरी गलत घरमा परे उसले दुःख पाउँछे, तर एउटा भोट गलत ठाउँमा परे सिङ्गो देशले दुःख भोग्नुपर्छ।’
सिंहदरबार जलाउन उक्साउने तर जोगाउन नसक्ने तत्वहरू अतिवादतर्फ उन्मुख हुँदै गएको भन्दै अध्यक्ष लिङदेनले चिन्ता व्यक्त गरे। संसद्मा राप्रपाजस्तो सुस्पष्ट विचार बोकेको शक्ति कमजोर भए देश अझ ठूलो दुर्घटनातर्फ जाने खतरा रहेको उनको भनाइ थियो।
देशलाई थप द्वन्द्वमा जान नदिन र स्थिरता कायम गर्न राप्रपालाई बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले राप्रपाले केवल राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा मात्र नभई विकासको स्पष्ट मार्गचित्र समेत बोकेको दाबी गरे।
‘हामीले अवसर पायौँ भने पाँच वर्षभित्र विकास र रोजगारीको मूल फुटाउँछौँ,’ उनले भने, ‘४०–५० हजार रुपैयाँ तलबका लागि हाम्रा युवाहरूले खाडीको चर्को गर्मीमा पसिना बगाउनु पर्दैन।’
अध्यक्ष लिङदेनले नेपालको निर्णायक अधिकार नेपाली जनताकै हातमा रहने व्यवस्था सुनिश्चित गर्ने प्रतिज्ञा पनि व्यक्त गरे। साथै, उनले आगामी फागुन १ गते हुने पूर्वराजाको सवारीमा उपस्थित हुन सबैलाई आग्रह गर्दै फागुन २१ गते हुने निर्वाचनलाई भोलि नै हो भन्ने ठानेर उच्च मनोबलका साथ प्रचारमा जुट्न कार्यकर्तालाई निर्देशन दिए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE