सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

चुनावी भेटघाटलाई तिब्रता दिंदै आजपा काठमाडौं–२ का उम्मेदवार तिलक थापामगर

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौं, २३ माघ
आम जनता पार्टी (आजपा) का सहअध्यक्ष तथा काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार तिलक थापामगर ले चुनावी छलफल तथा भेटघाटलाई तिब्रता दिएका छन्।
शुक्रबार थापामगरले काठमाडौं क्षेत्र नं. २ अन्तर्गतका जडीबुटी, कोटेश्वर, मुलपानी र पेप्सीकोला क्षेत्रका मतदाता तथा पार्टीका नेताकार्यकर्तासँग चुनावी भेटघाट एवं छलफल गरेका हुन्।
छलफलका क्रममा थापामगरले यस क्षेत्रबाट यसअघि निर्वाचित नेताहरूले स्थानीय समस्याप्रति गम्भीर चासो नदेखाएको आरोप लगाए। उनले भने, “ठूला–ठूला कुरा गरेर जित्नेहरूबाट काम नहुँदा स्थानीयवासी आक्रोशित छन्।”
स्थानीय नेताकार्यकर्ता तथा मतदाताले खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी र सुकुम्बासी समस्या काठमाडौं क्षेत्र नं. २ का प्रमुख समस्या रहेको उल्लेख गर्दै तिनको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।
थापामगरका अनुसार देशकै संघीय राजधानीमा पर्ने काठमाडौं क्षेत्र नं. २ मा आधारभूत सेवासमेत प्रभावकारी नहुनु विडम्बनाको विषय हो।
“काठमाडौं मुलुककै राजधानी हो, तर यहाँबाट विजयी भएका नेताहरूले अपेक्षित काम नगर्दा जनताले दुःख पाएका छन्,” उनले भने।
अहिलेको प्रणाली सुधार, भ्रष्टाचार, कुशासन र अनियमितताको अन्त्य नै आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य भएको उल्लेख गर्दै थापामगरले खानेपानी, शिक्षा र रोजगारी सिर्जनाका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाए। आजपाले विगतदेखि नै सुकुम्बासी समस्या, खानेपानी संकट, बेरोजगारी र मनपरी कर आतंकविरुद्ध संघर्ष गर्दै आएको उनको भनाइ थियो।
उनले सहकारी, लघुवित्त तथा वित्तीय संस्थाबाट पीडितहरूलाई न्याय दिलाउन पार्टीले चलाएका संघर्ष र आन्दोलनबारे जानकारी गराउँदै आगामी दिनमा पनि ती अभियान निरन्तर रहने बताए।
विशेषगरी मनोहरा खोला सहित विभिन्न खोलाबाट प्रभावित पीडितलाई न्याय दिलाउनकै लागि आफूले काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवारी दिएको थापामगरले स्पष्ट पारे। आफू काठमाडौंबासी भएकाले यहाँका वास्तविक समस्याबारे जानकार रहेको र समाधानका लागि इमानदार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।
अन्त्यमा उनले ‘मोबाइल’ चुनाव चिह्नमा मतदान गरी आजपाका उम्मेदवारलाई विजयी बनाउन मतदातासँग अपिल गरे। साथै काठमाडौंको धर्म, संस्कृति, रीतिरिवाज, कला र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्दै यसलाई सबै नेपालीको साझा मुख्य शहरका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x