राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने

बिहीबार २२ माघ २०८२
काठमाडौं । यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने भएको छ। नेपालमा २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य गरी पहिलोपटक प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गतेसम्म कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।
बिहीबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति गठन गरेको छ।
प्रधानमन्त्री अध्यक्ष रहने मूल समारोह समितिमा नेपाल सरकारका मन्त्रीहरू, काठमाडौँ उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू, मुख्य सचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य रहेका छन्। गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्य–सचिव रहनेछन्।
निर्णयअनुसार तीन दिनसम्म नेपालभर तथा विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासहरूमा विविध कार्यक्रम आयोजना गरिनेछ। मूल समारोह कार्यक्रम काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा हुने जनाइएको छ।
बैठकमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ नेपाली जनताका लागि अत्यन्तै महत्त्वपूर्ण दिन रहेको उल्लेख गर्दै यो दिन सबै आन्दोलन, जनसंघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको प्रतीक भएको बताइन्।
उनले भनिन्, “देशमा पछिल्लो समय केही सकारात्मक परिवर्तन देखिन थालेका छन्। भदौ २३ र २४ गते भएको आन्दोलनले मुलुकमा नयाँ चेतना र परिवर्तनको संकेत दिएको छ। हरेक क्षेत्रमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने भावना बलियो बन्दै गएको छ, यही भावनाबाट प्रजातन्त्र फस्टाउँछ र विकसित हुन्छ।”
प्रधानमन्त्री कार्कीले प्रजातन्त्र एकै प्रयासमा स्थापित नभएको उल्लेख गर्दै समाज सधैँ आन्दोलनशील रहँदै आएको बताइन्। “गत भदौ २३ र २४ गते त यति ठूलो जनसहभागिता देखियो कि त्यो साइक्लोनजस्तै आयो,” उनले भनिन्।
उनले लोकतन्त्र स्थापना गर्नु मात्रै पर्याप्त नभई त्यसको मार्गमा निरन्तर अघि बढ्नुपर्नेमा जोड दिँदै देशलाई लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरिन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE