दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

काठमाडौं, माघ २२ ।
निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र अनुशासित बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ लागू गरेको छ।
नयाँ कार्यविधिअनुसार अब राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि अनिवार्य रूपमा छुट्टै बैङ्क खाता खोल्नुपर्नेछ। प्रचारप्रसारसम्बन्धी सबै आम्दानी र खर्च बैङ्किङ प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ।
अब दल वा उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढी नगद सहयोग लिन नपाउने छन्। त्यस्तो सहयोग सिधै बैङ्क खातामा जम्मा गर्नुपर्नेछ। २५ हजारभन्दा कम रकम भने नगद रसिद काटेर खातामा जम्मा गर्न सकिनेछ।
कार्यविधिले सरकार, सरकारी स्वामित्वका संस्था, सार्वजनिक कम्पनी, गैरसरकारी संस्था, विदेशी व्यक्ति वा संस्था तथा नाम नखुलेका स्रोतबाट सहयोग लिन कडाइका साथ निषेध गरेको छ। एक लाख रुपैयाँभन्दा बढी सहयोग लिँदा सहयोगकर्ताको पूरा विवरण खुलाउनुपर्ने व्यवस्था छ।
यसअघि खोलिएका निर्वाचन खर्चसम्बन्धी बैङ्क खातामा रहेको रकम अब नयाँ कार्यविधिअनुसार खोलिएको खातामा सार्नुपर्ने छ। निर्वाचन सम्पन्न भएपछि खर्च विवरण सार्वजनिक गरी ३५ दिनभित्र खाता बन्द गर्नुपर्नेछ भने खाता विवरण छ वर्षसम्म सुरक्षित राख्नुपर्नेछ।
निर्वाचन खर्चको अनुगमनको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) लाई दिइएको छ। आयोगले आचारसंहिता कडाइका साथ कार्यान्वयन गरी निर्वाचनलाई स्वच्छ, मर्यादित र निष्पक्ष बनाउने उद्देश्यले यो व्यवस्था लागू गरेको जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE