सोमवार, माघ २०, २०८२
Monday, February 2, 2026

राष्ट्रपति पौडेल जापान प्रस्थान: यस्तो छ औपचारिक भ्रमण तालिका

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

सोमबार १९ माघ २०८२
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्। आइतबार मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी तथा नेपालका लागि जापानी राजदूतले राष्ट्रपति पौडेललाई बिदाइ गरेका थिए।
राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी तथा राष्ट्रपति कार्यालयका पदाधिकारी सहभागी छन्। राष्ट्रपति पौडेल यही माघ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा गएका हुन्। उक्त भ्रमणका क्रममा नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारले आयोजना गर्ने विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्।
भ्रमण तालिकाअनुसार राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोही दिन जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि राष्ट्रपति पौडेलको भेटवार्ता हुने कार्यतालिका रहेको छ। साथै, जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनेछन् भने जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन्।
नेपाल–जापान सम्बन्ध अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको मानिन्छ। सन् १ सेप्टेम्बर १९५६ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो सम्बन्ध मित्रता, सद्भाव र सहयोगमा आधारित रहँदै आएको छ। कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो। जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावाससमेत सञ्चालनमा छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x