ओली, लेखक, बालेन र सुदनविरुद्धको जाहेरी तामेलीमा

शनिबार ८ कार्तिक २०८२
काठमाडौं / पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेन–जी आन्दोलनमा भएको दमनको आरोपमा दर्ता भएका उजुरीहरू तामेलीमा राखिएका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले प्रारम्भिक चरणमा उजुरी दर्ता गरी तत्काल पक्राउ प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो । तर सुरक्षा निकायका प्रमुखहरूले तत्काल कदम चालिएमा शान्ति–सुरक्षामा समस्या आउन सक्ने चेतावनी दिएका थिए।
‘प्रधानमन्त्री र गृहमन्त्री दुबैजना प्रारम्भमा तत्काल कारबाहीको पक्षमा हुनुहुन्थ्यो। तर स्थिति र कानुनी पक्ष बुझाएपछि उहाँहरू पनि बिस्तारै सहमत हुनुभयो,’ एक उच्च सुरक्षा अधिकारीले भन्नुभयो ।
लामो परामर्शपछि प्रहरी र सरकारी वकिलको कार्यालयले तत्कालका लागि उजुरी तामेलीमा राख्ने निर्णय गरेको हो। उक्त उजुरीमा पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङलगायतको नाम समावेश छ।
जाहेरी तामेलीमा राख्नु अघि प्रहरी र सरकारी वकिलबीच विस्तृत छलफल भएको थियो। यसबीच सरकारले जेन–जी आन्दोलनको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा छानबिन आयोग गठन गरिसकेको छ। प्रहरी र सरकारी वकिल दुवै निकायको निष्कर्ष अनुसार उक्त आयोगले प्रतिवेदन नबुझाएसम्म ओली र लेखकविरुद्ध कानुनी प्रक्रिया अघि बढ्न सक्दैन।
ओली र लेखकविरुद्धको जाहेरी जेन–जी अभियानका संयोजक सुदन गुरुङले दिनुभएको थियो। त्यसको प्रतिक्रियास्वरूप नेकपा एमाले र नेपाली कांग्रेसका भ्रातृ संगठनहरूले बालेन शाह र गुरुङविरुद्ध पनि उजुरी दिएका थिए।
यसबाहेक तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध पनि छुट्टै उजुरी परेको थियो। यी सबै उजुरी अहिले तामेलीमा राखिएको प्रहरी स्रोतले जनाएको छ।
स्रोत : बर्णन मिडिया
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE