दीपावलीको अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश,समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढौँ ।
सोमबार ३ कार्तिक २०८२

स्वदेश र विदेशमा रहनुभएका प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
अहिले हामी यस वर्षका हाम्रा महान् चाडपर्वहरू मनाउने क्रममा छौँ। यमपञ्चक सुरु भएको छ । म्ह पूजा, नेपाल संवतको नयाँ वर्ष ११४६, छठ लगायतका पर्व पनि मनाउन गइरहेका छौँ । यी सबै चाडपर्वको अवसरमा यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
दीपावलीको उज्यालोसँगै आउने यी पर्व हाम्रो जीवनमा आशा, विश्वास र समृद्धिका प्रतीक हुन्। अन्धकारमाथि उज्यालोको, निराशामाथि आशाको र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा हामी यी पर्व मनाउँछौं।
यस वर्ष हामी परिवर्तनको असीम आकाङ्क्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेका छौं। भदौको महान् जेनजी आन्दोलनले हामीमाथि जुन भरोसा र दायित्व सुम्पेको छ, त्यसको सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने दृढ प्रतिबद्धता प्रकट गरेको छ। यसबीचमा जेनजीले चाहेको सुशासन र विकासको आधारशिला तयार पनि भएको छ।
फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौँ ।
६ महिनाभित्र स्थिर सरकार दिने प्रतीज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेका छौँ । यसनिम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढंगले अघि बढिरहेको छ ।
कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो । तसर्थ कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ। शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढौँ।
धन्यवाद ।
सुशीला कार्की
प्रधानमन्त्री, नेपाल सरकार
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE