जेनजी विद्रोहपछि फेरि द्वन्द्व भड्काउन खोज्ने तत्त्वहरूबाट सचेत रहौँ

जेनजी विद्रोह कुनै नियोजित घटना थियो कि थिएन भन्ने विस्तारै खुल्दै जाला । तर भदौ २३ र २४ गतेका दुई दिनमै नेपालमा यस्ता भयानक दृश्य देखिए र यति ठूलो परिवर्तन ल्याइदियो कि त्यसले विश्वलाई नै चकित पारेको छ । यही कारण नेपाल अहिले एउटा असामान्य राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ गतेको प्रदर्शन र २४ गतेको व्यापक हिंसापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको निर्वाचित सरकार विस्थापित भयो । संसद् विघटन भयो र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । छ महिनापछि नयाँ निर्वाचनको घोषणा भइसकेको छ । यस घटनाक्रमले मुलुकलाई लोकतान्त्रिक मार्गमा फर्काउने वा अझै गहिरो अस्थिरतामा धकेल्ने दुवै सम्भावना देखाइरहेको छ ।
विद्रोह भनेको सधैं सशस्त्र गतिविधि मात्र होइन । यस पटकको आन्दोलनमा जेनजी पुस्ताले शान्तिपूर्ण नाराबाट सुरुवात गरेको थियो तर परिस्थितिको नियन्त्रणहीन प्रवाहले राजधानीमै अहिलेसम्मकै ठूलो क्षति निम्त्यायो । प्रहरीका कयौँ । हतियार लुटिए । सर्वाधिक सुरक्षित भनेर खडा गरिएका सरकारी संरचना क्षणभरमै आगजनीबाट खरानी पारिए । कतिपयले यस घटनालाई कोतपर्वसँग तुलना गरेका छन् । यस्तो संवेदनशील अवस्थामा सचेत नागरिकहरूले देशलाई हिंसाबाट बचाउँदै समाधानको बाटो देखाउने जिम्मेवारी लिनुपर्छ ।
सबैभन्दा पहिला, विद्रोह किन भयो भन्ने प्रश्नमा गहिरो ध्यान दिन आवश्यक छ । यो पुस्ता किन सडकमा आयो रु उनीहरूको असन्तुष्टि बेरोजगारी, शिक्षामा लुटतन्त्र, भ्रष्टाचार र असमानतासँग जोडिएको थियो । प्रश्नहरूको यथार्थपरक जवाफ खोज्दा मात्र आन्दोलनको वास्तविक स्वरूप बुझ्न सकिन्छ । कुनै पनि नागरिकले अफवाह वा सामाजिक सञ्जालमा फैलिएका हल्ला होइन, तथ्यमा आधारित जानकारी लिनुपर्छ । साथै, सरकार र प्रदर्शनकारी दुवै पक्षका माग र दृष्टिकोणलाई वस्तुगत रूपमा अध्ययन गर्दा मात्र समाधानतर्फ जान सकिन्छ ।
विद्रोह वा आन्दोलनको समयमा वार्ता नै सबैभन्दा प्रभावकारी बाटो हुन्छ । सचेत नागरिकले सरकार र विद्रोही पक्षलाई संवादतर्फ धकेल्ने दबाब सिर्जना गर्नुपर्छ । शान्तिपूर्ण विरोध, हस्ताक्षर अभियान, जनमत संकलन वा सामुदायिक बहसमार्फत नागरिक आवाज उठाउन सक्छन् । स्थानीय तहका नेतृत्वसँग समन्वय गरेर द्वन्द्वलाई सहमतिको बाटोमा ल्याउन सकिन्छ ।
अहिले कतिपयले हिंसा भड्काउने, उत्तेजित पार्ने, हिंसाको पक्षमा वकालत गर्ने कार्य गरिरहेको पाइन्छ । जुन बिल्कुलै गलत छ । कुनै पनि प्रकारले हिंसामा संलग्न हुने कुरा उचित मान्न सकिँदैन । त्यो जिम्मेवार नागरिकको कर्तव्यभित्र पर्दैन । अहिंसात्मक सहभागिताले मात्र आन्दोलनलाई वैधता दिन्छ । हिंसा फैलाउने वा समर्थन गर्ने कार्यले समस्या समाधान होइन, अझै जटिल बनाउँछ । त्यसैले नागरिक समाज, मानवअधिकार संस्था र सञ्चारमाध्यमलाई सहयोग गरेर पारदर्शी र शान्तिपूर्ण दबाब सिर्जना गर्नु जरुरी छ ।
विद्रोहको कारण बुझेर त्यसबारे सचेतना फैलाउनु नागरिकको अर्को प्रमुख जिम्मेवारी हो । समाजका विभिन्न तहका मानिसलाई लोकतन्त्र, कानुन र मानव अधिकारबारे शिक्षित बनाउनु जरुरी छ । युवा पुस्ता भावनामा बगेर हिंसामा उत्रनुभन्दा विवेकसम्मत तवरले आफ्ना माग राख्न सकून् भन्ने वातावरण बनाउनुपर्छ ।
विद्रोहपछि समाजमा द्वन्द्वका घाउहरू देखिन्छन् । पीडितलाई राहत दिनुपर्ने हुन्छ । मानसिक स्वास्थ्यमा सहयोग पुर्याउनुपर्छ । पुनःस्थापना, शिक्षा र रोजगारीको अवसर सिर्जना गर्नु नागरिक जिम्मेवारीको अङ्ग हो । मेलमिलापको वातावरण बनाउन सके मात्रै समाज पुनः स्थिरतातर्फ अघि बढ्छ ।
नयाँ निर्वाचनको घोषणा भइसकेको छ । सचेत नागरिकले स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनमा सक्रिय भूमिका खेल्नुपर्छ । मतदानमा सहभागिता गर्नु मात्र होइन, निर्वाचन प्रक्रिया स्वतन्त्र रहोस् भनेर नागरिक दबाब समूह वा फोरम बनाएर निगरानी गर्नुपर्छ । यसले लोकतन्त्रलाई बलियो बनाउँछ ।
विद्रोह वा आन्दोलन कुनै पनि समाजको कमजोरी मात्र होइन, सुधार गर्ने अवसर पनि हो । तर यसलाई हिंसाबाट होइन, विवेक र शान्तिपूर्ण मार्गबाट अगाडि बढाउनुपर्छ । सचेत नागरिकले भावनामा बगेर गैरकानुनी गतिविधिमा लाग्नुहुँदैन।
सरकारको दमन होस् वा विद्रोहीको हिंसात्मक कार्य, दुवैको आलोचना गर्न सक्नुपर्छ । जिम्मेवार, संयमित र रणनीतिक नागरिक सहभागिताले मात्र नेपाललाई यो संकटबाट बाहिर निकाल्दै स्थायी शान्ति र लोकतन्त्रको मार्गमा अघि बढाउन सक्छ । तर मुलुकलाई अस्थिरतामै राखिरहन र थप संकटतर्फ धकेल्न चाहने तत्त्वहरु जेनजी विद्रोहपछि पनि फेरि द्वन्द्व भड्काउन खोजिरहेका छन् । त्यसतर्फ सचेत रहनुपर्छ । बडादसैँको शुभकामना ।
source, बर्णनmedia
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE