शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

जेनजी विद्रोहपछि फेरि द्वन्द्व भड्काउन खोज्ने तत्त्वहरूबाट सचेत रहौँ

Spread the love

जेनजी विद्रोह कुनै नियोजित घटना थियो कि थिएन भन्ने विस्तारै खुल्दै जाला । तर भदौ २३ र २४ गतेका दुई दिनमै नेपालमा यस्ता भयानक दृश्य देखिए र यति ठूलो परिवर्तन ल्याइदियो कि त्यसले विश्वलाई नै चकित पारेको छ । यही कारण नेपाल अहिले एउटा असामान्य राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ गतेको प्रदर्शन र २४ गतेको व्यापक हिंसापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको निर्वाचित सरकार विस्थापित भयो । संसद् विघटन भयो र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । छ महिनापछि नयाँ निर्वाचनको घोषणा भइसकेको छ । यस घटनाक्रमले मुलुकलाई लोकतान्त्रिक मार्गमा फर्काउने वा अझै गहिरो अस्थिरतामा धकेल्ने दुवै सम्भावना देखाइरहेको छ ।

विद्रोह भनेको सधैं सशस्त्र गतिविधि मात्र होइन । यस पटकको आन्दोलनमा जेनजी पुस्ताले शान्तिपूर्ण नाराबाट सुरुवात गरेको थियो तर परिस्थितिको नियन्त्रणहीन प्रवाहले राजधानीमै अहिलेसम्मकै ठूलो क्षति निम्त्यायो । प्रहरीका कयौँ । हतियार लुटिए । सर्वाधिक सुरक्षित भनेर खडा गरिएका सरकारी संरचना क्षणभरमै आगजनीबाट खरानी पारिए । कतिपयले यस घटनालाई कोतपर्वसँग तुलना गरेका छन् । यस्तो संवेदनशील अवस्थामा सचेत नागरिकहरूले देशलाई हिंसाबाट बचाउँदै समाधानको बाटो देखाउने जिम्मेवारी लिनुपर्छ ।
सबैभन्दा पहिला, विद्रोह किन भयो भन्ने प्रश्नमा गहिरो ध्यान दिन आवश्यक छ । यो पुस्ता किन सडकमा आयो रु उनीहरूको असन्तुष्टि बेरोजगारी, शिक्षामा लुटतन्त्र, भ्रष्टाचार र असमानतासँग जोडिएको थियो । प्रश्नहरूको यथार्थपरक जवाफ खोज्दा मात्र आन्दोलनको वास्तविक स्वरूप बुझ्न सकिन्छ । कुनै पनि नागरिकले अफवाह वा सामाजिक सञ्जालमा फैलिएका हल्ला होइन, तथ्यमा आधारित जानकारी लिनुपर्छ । साथै, सरकार र प्रदर्शनकारी दुवै पक्षका माग र दृष्टिकोणलाई वस्तुगत रूपमा अध्ययन गर्दा मात्र समाधानतर्फ जान सकिन्छ ।

विद्रोह वा आन्दोलनको समयमा वार्ता नै सबैभन्दा प्रभावकारी बाटो हुन्छ । सचेत नागरिकले सरकार र विद्रोही पक्षलाई संवादतर्फ धकेल्ने दबाब सिर्जना गर्नुपर्छ । शान्तिपूर्ण विरोध, हस्ताक्षर अभियान, जनमत संकलन वा सामुदायिक बहसमार्फत नागरिक आवाज उठाउन सक्छन् । स्थानीय तहका नेतृत्वसँग समन्वय गरेर द्वन्द्वलाई सहमतिको बाटोमा ल्याउन सकिन्छ ।
अहिले कतिपयले हिंसा भड्काउने, उत्तेजित पार्ने, हिंसाको पक्षमा वकालत गर्ने कार्य गरिरहेको पाइन्छ । जुन बिल्कुलै गलत छ । कुनै पनि प्रकारले हिंसामा संलग्न हुने कुरा उचित मान्न सकिँदैन । त्यो जिम्मेवार नागरिकको कर्तव्यभित्र पर्दैन । अहिंसात्मक सहभागिताले मात्र आन्दोलनलाई वैधता दिन्छ । हिंसा फैलाउने वा समर्थन गर्ने कार्यले समस्या समाधान होइन, अझै जटिल बनाउँछ । त्यसैले नागरिक समाज, मानवअधिकार संस्था र सञ्चारमाध्यमलाई सहयोग गरेर पारदर्शी र शान्तिपूर्ण दबाब सिर्जना गर्नु जरुरी छ ।

विद्रोहको कारण बुझेर त्यसबारे सचेतना फैलाउनु नागरिकको अर्को प्रमुख जिम्मेवारी हो । समाजका विभिन्न तहका मानिसलाई लोकतन्त्र, कानुन र मानव अधिकारबारे शिक्षित बनाउनु जरुरी छ । युवा पुस्ता भावनामा बगेर हिंसामा उत्रनुभन्दा विवेकसम्मत तवरले आफ्ना माग राख्न सकून् भन्ने वातावरण बनाउनुपर्छ ।
विद्रोहपछि समाजमा द्वन्द्वका घाउहरू देखिन्छन् । पीडितलाई राहत दिनुपर्ने हुन्छ । मानसिक स्वास्थ्यमा सहयोग पुर्‍याउनुपर्छ । पुनःस्थापना, शिक्षा र रोजगारीको अवसर सिर्जना गर्नु नागरिक जिम्मेवारीको अङ्ग हो । मेलमिलापको वातावरण बनाउन सके मात्रै समाज पुनः स्थिरतातर्फ अघि बढ्छ ।

नयाँ निर्वाचनको घोषणा भइसकेको छ । सचेत नागरिकले स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनमा सक्रिय भूमिका खेल्नुपर्छ । मतदानमा सहभागिता गर्नु मात्र होइन, निर्वाचन प्रक्रिया स्वतन्त्र रहोस् भनेर नागरिक दबाब समूह वा फोरम बनाएर निगरानी गर्नुपर्छ । यसले लोकतन्त्रलाई बलियो बनाउँछ ।
विद्रोह वा आन्दोलन कुनै पनि समाजको कमजोरी मात्र होइन, सुधार गर्ने अवसर पनि हो । तर यसलाई हिंसाबाट होइन, विवेक र शान्तिपूर्ण मार्गबाट अगाडि बढाउनुपर्छ । सचेत नागरिकले भावनामा बगेर गैरकानुनी गतिविधिमा लाग्नुहुँदैन।

सरकारको दमन होस् वा विद्रोहीको हिंसात्मक कार्य, दुवैको आलोचना गर्न सक्नुपर्छ । जिम्मेवार, संयमित र रणनीतिक नागरिक सहभागिताले मात्र नेपाललाई यो संकटबाट बाहिर निकाल्दै स्थायी शान्ति र लोकतन्त्रको मार्गमा अघि बढाउन सक्छ । तर मुलुकलाई अस्थिरतामै राखिरहन र थप संकटतर्फ धकेल्न चाहने तत्त्वहरु जेनजी विद्रोहपछि पनि फेरि द्वन्द्व भड्काउन खोजिरहेका छन् । त्यसतर्फ सचेत रहनुपर्छ । बडादसैँको शुभकामना ।

source, बर्णनmedia

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x