अहिलेको संविधान मरिसक्यो, यसलाई बोकेर हिँड्नु समाजलाई दुषित बनाउनु हो : प्रभु साह

शुक्रबार ३ असोज २०८२
काठमाडौं / आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान संविधान र अहिलेको व्यवस्था नेपाली जनताको नभएर आज असोज ३ गते संविधानको दिवस नभएर अन्त्येष्टि दिवस मनाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै पूर्वमन्त्री साहले अहिलेको संविधान र व्यवस्थाकै कारण मुलुक अन्त्यहीन समस्याको भड्खालोमा फसेको दाबी गरेका छन् । उनले अहिलेको संविधान मृत्त भैसकेको भन्दै अब यसलाई बोकेर हिँड्नु भनेको समाजलाई दुषित तुल्याउनु भएको टिप्पणी गरेका छन् ।
साहले भिडिओ अपिलमा भनेका छन्,“असोज ३ गते संविधान दिवस मनाउने कि संविधानको अन्त्येष्टि गर्ने भन्ने विषयमा म केही भन्न चाहन्तछु । तपाईं हामी सबैलाई थाहा छ यही संविधानको कारण आज देशमा अमनचयन हुन सकेन । सुख र समृद्धि पनि भएन । व्यवस्था बिग्रिएकै कारण अवस्था पनि बिग्रियो ।”
साहले आफूले वर्तमान संविधानलाई धोकाको पुराण भन्दै आएको पनि स्मरण गराए । यही संविधानको कारण देशको राष्ट्रियतासमेत ध्वस्त भएको उनको आरोप छ । उनले भने,“म निरन्तर भन्दै आएको छु, वर्तमान संविधान धोकाको पूराण हो । आज यसैको कारण हाम्रो राष्ट्रियत ध्वस्त भएको छ । दुनियाँमा कहीँ नभएको दुई देशको नागरिकताको प्रावधान नेपालमा छ । साम्राज्यवादी देशका नागरिकले खुलेआम नेपालको नागरिकता प्राप्त गर्न सकिरहेका छन् । जसको कारण नेपालका नेताहरु र शासकका सन्तान र सम्पत्ति विदेश गैरहेको छ । हामी हिजो लोकतन्त्रको लागि लडेका थियौं । तर, आज दलतन्त्र छ । दलका नेताहरु अघोषित राजा बनेका छन् । लोकतन्त्र देखाउने दाँत भएको छ । जनता लाचार छन् । नेता मालामाल छन् । कहीँ नभएको ७६१ सरकार छ । खुलेआमा भ्रष्टाचार छ । योपनि यही संविधानको उपज हो ।”
उनले देशमा सरकारपिच्छे सरकारको कर आतंकको कारण जनता आजित बनेको बताए । नेपालमा विश्वमा कहीँ नभएको कर जनताले तिर्नुपरेको साहको दाबी छ । उनले थपे,“आज सरकारपिच्छे सरकारको कर आतंक छ । नामै नसुनेको कर तिर्नुपरको छ । करकै कारण हाम्रो उत्पादन महँगो भयो । उद्योग तथा व्यवसाय चौपट्ट भएको छ । व्यापार घाटामा छ । हाम्रो अर्थन्त्र बर्वाद हुँदैछ । दुनियाँमा जिडिपीको २० प्रतिशतभन्दा बढि कहीँ पनि कर छैन । तर, नेपालमा जिडिपीको ३५ प्रतिशत कर नेपाली जनताले तिर्नुपरेको छ । यो कुरा सामान्य छैन । यसको कारण पनि यही संविधान हो भन्ने कुरा सही ढंगले बुझ्न जरूरी छ ।”
साहले देशमा अहिले पहिचान र अधिकारविहीन संघीयता लादिएको आरोप लगाए । यही कारण सामाजिक न्यायसमेत एक तमाशा बनेको उनको भनाई छ । साहले भने,“आज नेपालमा पहिचान र अधिकारविहीन संघीयता छ । शासकलाई आरक्षण छ, यो दुनियाँमा कहीँ पनि छैन । जसको कारण सामाजिक न्याय एक तमाशा बन्न पुगेको छ । समानताभित्र विशेषाधिकार छ । प्रतिष्पर्धामा सिण्डिकेट छ । जसको कारण सामाजिक सद्भाव कायम हुन सकिरहेको छैन । एउटा द्धन्द्धको अवस्था छ ।”
देशमा विद्यमान सबैखाले समस्याहरुको कारण र यसको जड नै वर्तमान संविधान भएको साहको टिप्पणी छ । उनले भने,“आज यी तमाम कारणहरु जो देखिँदैछन्, यसको मैले संविधानसभादेखि नै विरोध गर्दै आएको हो । हिजो संविधान बनिराख्दा ६०१ जनामा एउटा प्रभु साह हो, जसले यो गलत भयो भनेर भनेको थिएँ । यो संविधान जारी गर्दा देश बर्बाद हुन्छ भनेको थिएँ, त्यसरी मैले विरोध गरिराख्दा मलाई माओवादीले साधारण सदस्यबाट हटाएका थियो । मलाई प्रताडित गरियो । विभिन्न दलहरु मिलेर मलाई प्रताडित गरियो । तपाईंहरुको आशिर्वादले मैलै दुईवटै संविधानसभामा जितें, संविधानसभामा मैले समितिको सभापतिदेखि मस्यौदा समितिमा समेत काम गरेको थिएँ, यो सबै अनुभवले मेरो अन्तर्मनले भन्यो कि म हिजोका आन्दोलन र जनयुद्धका शहीदहरुप्रति गद्दारी गर्दिनँ । देश र जनताप्रति धोका दिन्नँ । गलत कुरालाई म गलत नै भन्छु, चाहे जेसुकै सहनुपरोस भनेर म लड्दै आएको मान्छे हुँ ।”
अहिले आएर आफूले दलाल दलतन्त्रको लुट, अत्याचार र भ्रष्टाचारको विरोध गरेको पनि उनले स्मरण गराए । दलाल दलतन्त्रको लुट र अत्याचार, भ्रष्टाचारको विरोध आफूले तेस्रो जनआन्दोलनको उद्घोष गरेर लडिराखेको पनि साहले सम्झाए । उनले भने,“हामी त लडिरहेका छौं, त्यसअर्थ पनि म भन्न चाहन्छु अहिलेको समस्या व्यवस्थामा हो । समस्या सिस्टममा हो भन्ने कुरा सही ढंगले बुझ्न जरुरी छ । आज देशको जो हालत छ, नेतृत्वमात्रै होईन । सिस्टम हो भन्ने कुरा राम्ररी बुझ्न जरुरी छ । यो अहिलेको युवा पुस्ताले बुझ्यो । त्यसमा मलाई धेरै गौरव र खुशी छ । आज जेन–जी पुस्ताको आन्दोलनमा आम नेपाली जनता सडकमा आए । यो विधि र विधानलाई अस्विकार गरे । संविधान र सिस्टमलाई अस्विकार गरेकोमा मलाई खुशी छ ।”
आम नेपाली जनताले सडकमार्फत सरकार, व्यवस्था र नेतृत्वलाई अस्विकार गरिसक्दा पनि संविधानको दिवस मनाउने कुरा हाँस्यास्पद हुने साहको भनाई छ । उनले भने,“मृत्त चिजको कहिल्यैपनि उत्सव हुँदैन । अन्त्येष्टि हुन्छ भन्ने कुरा सही ढंगले बुझ्न जरुरी छ । म नेपाली जनतालाई अपिल गर्न चाहन्छु–यदि यस्तै मृत्त संविधान र व्यवस्थालाई तपाईं÷हामीले बोक्यौं भने यसले हाम्रो समाजलाई दुषित गर्छ। यसलाई अन्त्येष्टि गरेरमात्रै नयाँ यात्रा गर्न जरूरी छ । अनिमात्रै हामी केही गर्न सक्छौं । अबको नेपाली जनताको चाहना भनेको जनताको संविधान हुन जरूरी छ । यो गणतन्त्र भगौडा दलाल वर्गहरुको हो, नेपाली जनताको होईन । नेपाली जनाको संविधान चाहिएको छ। असोज ३ गते दिवस होईन, अन्त्येष्टि मनाउँ । देशलाई नयाँ निकास दिउँ । धन्यवाद ।”
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE