शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आज नागपञ्चमी मनाइँदै

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

मङ्गलबार १३ साउन २०८२

काठमाडौ / आज श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमी देशभरि नै नागनागिनीको पूजा गरी मनाइँदै छ । नागपञ्चमीका दिन विशेष गरी घर, कुवा, इनार, मन्दिरमा गई नाग–नागिनीको पूजा गर्ने गरिन्छ । यस दिन घरको मूल ढोकामा नाग–नागिनी, बिच्छी, माकुरा, माछा, गंगटा, चन्द्र, सूर्यलगायत अंकित फोटो टाँसेर पूजा गर्ने चलन छ ।
अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने अनि आगो र सर्पको भय नहुने धार्मिक विश्वास रहीआएको छ । विषालु जीवजन्तुबाट हानि नहोस्, पानीको अभाव नहोस् भनेर पनि नागपूजा गर्ने गरिएको छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नामक आठवटा नागको पूजा गरिन्छ । यी नागहरूले वायुमा रहेको विषलाई खाने गरेकाले वातावरण शुद्ध रहन्छ । यस कुरालाई वैज्ञानिकहरूले पनि पुष्टि गरेका छन् ।

नाग पञ्चमीको महिमा महाभारतसँग जोडिएको पाइएको छ । अर्जुनका नाति तथा अभिमन्युका छोरा राजा परीक्षितलाई तक्षक नागले डस्दा उनको मृत्यु हुन्छ । यस घटनाबाट परीक्षितका छोरा जनमेजय नाग प्रजातिसँग रिसाउँछन् । उनले नागजातिलाई नै नष्ट गर्न महायज्ञ गर्दछन् । जसको प्रभावले सबै नाग एक–एक गरी हवनकुण्डमा आई आफैं मर्छन् ।

उक्त यज्ञ यति शक्तिशाली हुन्छ कि मृत्युको भयले स्वर्गका राजा इन्द्रको सिंहासनमा बेरिएर लुकेको तक्षक नाग इन्द्रासनसहित खिचिएर अग्निकुण्डमा होमिन्छ । यो देखेर नागजातिको रक्षाका लागि भगवान् शिवकी पुत्री मनसादेवीसँग देवताहरू पुकार गर्दछन् । तत्पश्चात् उनले आफ्नो पुत्र अस्तिकलाई यज्ञ रोक्न पठाउँछिन् । आस्तिकले जनमेजयको रिस शान्त पारेपछि यज्ञ रोकिन्छ । तत्पश्चात् श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने गरिएको किंवदन्ती छ ।

त्यस्तै, एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन बच्चा मारिदिन्छन् । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखेर किसानलाई तत्काल मारिदिन्छिन् । त्यतिले पनि रिस नमेरेपछि नागिनीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिन्छिन् ।

किसानकी छोरी भने घरबाहिर हुन्छिन् । उनलाई पनि नागिनीले खोज्दै जाँदा बाटोमा फेला पारेर मार्न खोज्छिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरेर नमार्न आग्रह गर्छिन् । पूजाआजा गर्ने वचन दिन्छिन् । मृत्युको मुखबाट बाँचेकी किसानकी छोरीले नागिनीलाई सोह्र प्रकारले पूजाआजा गरेर दूध खान दिन्छिन् । पूजाबाट खुसी भएकी नागिनीले के वर चाहन्छौ माग भनेपछि उनले मेरा मातापिता र भाइहरूलाई पनि जीवनदान दिनुहोस् भनी वर माग्छिन् । खुसी भएकी नागिनीले किसानका सबै परिवारलाई बचाइदिन्छिन् ।

श्रावण शुक्ल पञ्चमी दिन किसानको परिवारलाई नातिनीले बचाइदिएकाले प्रत्येक वर्ष यसै दिन ब्राह्मण, पुरोहित वा आफैंले नागपूजा गरी घरको मूल ढोकामा नाग टाँस्ने परम्परा चलिआएको जनविश्वास छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x