मङगलबार १० असार २०८२
काठमाडौ / एसीसी पुरुष यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले जापानलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।
मंगलबार जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४ दशमलव २ ओभरमा मात्र एक विकेट गुमाउँदै आफ्नो दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको हो।
नेपालका लागि शिवांश बजगाईंले नटआउट रहँदै सर्वाधिक ३८ रन बनाए। यस्तै प्रशिद्ध जैशीले पनि नटआउट रहँदै ३३ रन बनाए। सिंगापुरविरुद्ध पनि उनले नटआउट ५५ रन बनाएका थिए। जोय थापा भने एक रनमै आउट भएका थिए। जापानका लागि बलिङमा काइसी कोबायाशीदोग्गेतले एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको जापान ३४ दशमलव ३ ओभरमा अलआउट हुँदै ८० रनमा समेटिएको थियो। जापानका लागि चार्ली हाराहिन्जेले सर्वाधिक ३६ रन बनाउँदा ग्याबी हाराहिन्जेले १३ रन बनाए।
बलिङमा नेपालका शुभम खनालले सर्वाधिक पाँच विकेट लिए। १० ओभर बलिङ गरेका उनले १५ रन मात्र खर्चिएर पाँच विकेट लिएका हुन्। यस्तै अभय यादवले ६ ओभरमा २५ रन खर्चिँदै २ विकेट लिँदा कप्तान विपिन प्रसाद शर्मा र शुसिलबहादुर रावलले एक/एक विकेट लिए।
एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन्। त्यस्तै समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार रहेका छन्।
पहिलो खेल आइतबार नेपालले सिंगापुरविरुद्ध ६ विकेटको सानदार जित हात पारेको थियो।
नेपालले तेस्रो खेलमा आइतवार इन्डोनेसियासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ।
हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ। नेपाल प्रतियोगिताको यसअघिका तीनै संस्करणको च्याम्पियन हो।
WRITE COMMENTS FOR THIS ARTICLE