प्रथम मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप अगामी ६ र ७ गते हुँदै

काठमाडौं महानगरपालिका वडा–२२ ले मंगलबार प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। यस प्रतियोगितामा कुल ६ तौलसमूहमा प्रतिस्पर्धा हुँदै छ। प्रतियोगिताका खेलहरू राष्ट्रियसभागृहमा नै सञ्चालन हुनेछन्। प्रतियोगिमा पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रत्येक तौलसमूहका विजेताहरू मिस्टर महानगरको ओभरअल प्रतिस्पर्धामा खेल्नका लागि छनोट हुनेछन्। ओभरअल विजेता खेलाडीले मिस्टर महानगरको उपाधिसहित नगद पाँच लाख, ट्रफी र ब्यानेट पाउनेछ। प्रत्येक तौलसमूहबाट प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः स्वर्ण, रजत तथा कांस्य पदकसहित नगद पुरस्कार पाउनेछन्।
हरेक तौल समूहमा विजेता, उपविजेता र तेस्रो स्थानमा रहने खेलाडीलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै चौथो र पाँचौं हुने खेलाडीले पनि क्रमशः १५ हजार र १० हजार रूपैयाँ र पदक पाउनेछन्।
असार ६ गते तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रिजजिङ र फाइनल हुने आयोजकले जनाएको छ। पहिलो संस्करणमा पुरुष खेलाडीको मात्र प्रतिस्पर्धा हुने भएको छ। अर्को वर्षदेखि भने महिलातर्फ पनि प्रतिस्पर्धा गराउने काठमाडौं महानगरपालिका वडा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए।
नेपाल शारिरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा यो प्रतियोगिता हुन लागेको हो। यस प्रतियोगिताको अवसरमा शारीरिक सुगठन क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वहरूलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE