प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘तपाई आफ्नो जन्मदिन धुमधामकासाथ मनाउँनुहुन्छ, सीताको जन्मदिन कसरी बिर्सिनुभो ?’


मङ्गलबार २३ बैशाख २०८२
काठमाडौं / आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय विभुति माता सीता (जानकी) जयन्तीमा नमनाएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २१औं शताब्दीमा लैंगिक विभेद गरेको बताएका छन् ।
प्रतिनिधि सभाको आज (मंगलबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन धुमधामसंग मनाउने तर राष्ट्रिय विभुति सीताको जन्मदिन किन धुमधामसंग नमनाएको भन्दै प्रश्न समेत गरे ।
‘सम्मानिय सभामुख महोदय, आज माता सीता (जानकी)को जन्मदिन । जानकी जयन्तीको अवसरमा म सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु । म सरकारसंग सोध्न चाहन्छु, जानकी जयन्तीको बारेमा सरकारलाई थाहा छ की छैन् ?,’ आजपा अध्यक्ष साहले भने, ‘श्रीरामको जन्मदिन रामनवमी हामी मनाउँछौं त्यो खुशीको कुरा हो, सरकारले विदा पनि दिन्छ । तर जानकी जयन्तीलाई किन व्यवस्ता गरेको भन्ने प्रश्न गर्न चाहन्छु । के अहिलेको २१औँ शताब्दीमा लैंगिक विभेद गर्न मिल्छ ?’
जानकी जयन्तीमा विदा नदिएर प्रधानमन्त्री ओली नेतृत्वको सरकारले लैंगिक विभेद गरेको आरोप पनि उनले लगाए । ‘एउटा राष्ट्रिय विभुति सीता जो नेपालको गौरब हुन् । उहाँको सम्मान गर्न व्यवस्ता गर्न मिल्छ ? म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु तपाई त आफ्नो जन्मदिन धुमधामकासाथ मनाउँनुहुन्छ । सीताको जन्मदिन कसरी बिर्सिनुभो ?’ प्रधानमन्त्री ओलीसंग प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने ।
विश्वका अन्य व्यक्तिको जन्मदिन धुमधामसंग मनाउने गरिएको बताउदै उनले आफ्नै देशको राष्ट्रिय विभुतिलाई विर्सिन नसकिने बताए । तर सरकारले सीता जयन्तीमा विदा नदिने, जन्मजयन्ती नमनाउने गरेको प्रति उनले उनले आपती जनाए । जानकी जयन्ती नमनाएर सरकारले लैंगिक विभेद गरेको आरोप समेत लगाए ।
यस अघि प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा आफू मन्त्री हुँदा सीता जयन्ती मनाउन प्रस्ताव गरेकोमा सरकारले नसुनेको गुनासो समेत उनले गरे ।
‘म कुनै बेला अहिलेको प्रधानमन्त्री ओलीकै क्याविनेटमा थिए । र मैले धेरै प्रयास गरे, विदा नदिए पनि क्यालेन्डरमा ठाउँ दिनुस् । ताकी नेपाली जनतालाई थाहाहोस् की सीता जन्मेको डेट कुन हो । क्यौँ व्यक्ति जन्मे तर उनका जन्ममिती हामीलाई थाहा छैन् । तर सीताजीको जन्मदिन त सबैलाई थाहा छ । त्यसलाई इन्ट्रो गर्न पनि (ओली) मान्नु भएन्,’ आजपा अध्यक्ष साहले भने, ‘म नेपाली कांग्रेसलाई भन्न चाहन्छु । अहिले त तपाईहरु त्यहाँ हुनुहुन्छ क्याविनेटमा, अलिकति त विचार गर्नुस् । राष्ट्रिय विभुतिको अपमान गर्ने छुट कसैलाई छैन् ।’
सीता राष्ट्रिय विभुति भएको र देशदुनियाले भगवानको रुपमा पुजा समेत गर्दै आएका छन् ।
साहले भने, ‘यदी राष्ट्रिय विभुति हामीले स्वीकार्छौँ, सीता नेपालको गौरव हो भन्ने मान्छौँ । हाम्रो संविधानले लैंगिक विभेदलाई अन्त्य गर्न भनेको छ । तर यो विभेद किन ? श्रीमानको जन्मदिन मनाउँने तर श्रीमतीको जन्मदिनलाई व्यवस्ता गर्ने यो हामीलाई स्वीकार्य छैन् । म सरकारको गम्भिर ध्यानाकर्षण गराउँन चाहन्छु आउँने बर्षको क्यालेण्डरमा सीता जयन्ती होस् ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE