शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सुन तस्करीको खतरनाक जालो माथिसम्मै,पक्राउ परेका लामालाई राजस्वको जिम्मा लगाइयो

अवैध सुन किन्नकै लागि लगिँदै थियो २५ करोड
  • 70
  •  
  •  
  •  
  •  
  •  
  •  
    70
    Shares

बुधबार ६ चैत्र २०८१,

काठमाडौं / संघीय राजधानी काठमाडौंमा नै सुन तस्करीका लागि लगिँदै गरेको २५ करोडभन्दा बढी रकम बरामद भएपछि सुन तस्करीको खतरनाक जालो रहेको खुलासा भएको छ ।

प्रहरीले सोमबार राति विशेष सूचनाका आधारमा काठमाडौंको उत्तरभेगमा पर्ने टोखा नगरपालिका–२ झोरमा २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपियाँ बराबरको डलर र युरो बरामत गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरलाई सोमबार राति ठूलो परिमाणको रकम ट्रकमा राखेर काठमाडौंको टोखाबाट त्रिशूली लगिँदै गरेको सूचना प्राप्त भएपछि प्रहरीले सक्रियता बढाएको थियो ।

सो सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले तत्काल सो सूचनाअनुसार ट्रकको खोजी गर्न प्रहरी टोली परिचालन गर्दा सो रकम बरामद हुन सकेको हो । प्राप्त सूचनालाई पछ्याउँदै गएको प्रहरी टोलीले सोमबार राति १० बजेतिर टोखा नगरपालिका–२ झोरमा पूर्वसूचना अनुसार ना७ख १६५२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई खानतलासी गर्दा त्यति धेरै रकम फेला परेको हो ।

प्रहरीले त्यति धेरै रकम एकैपटक बरामद गरिएको सम्भवतः यो पहिलोपटक भएको बताएको छ । प्रहरीले सो ट्रकका चालकका रूपमा रहेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामालाई नियन्त्रणमा लिएर सुन तस्करीको माथिल्ला नेक्सस पत्ता लगाउने गरी सोधपुछ गरे पनि लामाले माथिल्लो नेक्ससका बारेमा केही थाहा नभएको बताएपछि प्रहरी अलमलमा परेको छ । प्रहरीले लामाको प्रारम्भिक बयान लिएर थप अनुसन्धानका लागि लामालाई राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले २५ करोड बरामदका क्रममा पक्राउ परेका चालक लामामाथि थप अनुसन्धान थालिएको जानकारी दिनुभयो । उहाँले सुन तस्करहरूले विभिन्न नवीन उपाय र नयाँ नाकाहरू प्रयोग गर्ने गरेको पाइएको बताउनुभयो । प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा सुन तस्करीको जालो माथिसम्ममा रहेको निष्कर्ष निकाले पनि त्यो जालोमा को को संलग्न छन् भन्ने बारेमा पत्ता लगाउन भने निकै हम्मे पर्ने देखिएको छ । थप अनुसन्धान गर्ने जिम्मेवारी पाएको राजस्व अनुसन्धान विभागलाई पनि तस्करीको माथिल्लो जालो पत्ता लगाउन कठिन देखिएको छ ।

विभागका महानिर्देशक घिमिरेले २५ करोड बरामदसँगै पक्राउ परेका चालक लामाको कल डिटेल्सका आधारमा थप अनुसन्धान हुने बताउनुभयो । ‘लामाको मोबाइल र कल डिटेल्सबाट थप पत्ता लाग्न सक्छ कि भन्नेमा अनुसन्धान अघि बढाउँछौं’ –घिमिरेले भन्नुभयो । प्रहरीका एक अनुसन्धान अधिकृतका अनुुसार २५ करोड बढीको डलर र युरो बरामद भएपछि यसको रुट र पुग्ने गन्तव्य, डलरसँगै पक्राउ परेका व्यक्तिको पृष्ठभूमि र पक्राउ परेकाको बयानलाई आधार बनाउँदै सुन तस्करीकै लागि सो २५ करोड प्रयोग गरिएको र यसको जालो सुन तस्करसँग रहेको पाइएको छ । यस प्रकरण सँगै सुन तस्करहरूले रसुवाको केरुङ नाका हुँदै सीमापार गरेर अवैध रकम चीन पु¥याउने र उताबाट सुन खरिद गेरर ल्याउने गरेको पाइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेत पनि यो रकम सुन खरिदका लागि लगिएको हुन सक्ने बताउनुहुन्छ । ‘अहिलेसम्मको हाम्रो अनुसन्धानले यो डलर र युरो सुन खरिदका लागि चीन जाँदै थियो भन्ने देखाएको छ । बाँकी थप अनुसन्धानबाट पत्ता लाग्ला नै’ –एसएसपी बस्नेतले भन्नुभयो ।

प्रहरीका अनुसार सो डलर बोकेर केरुङतर्फ जाने व्यक्ति यसअघि ७ किलो सुनसहित पक्राउ परेका थिए । लामालाई यसअघि अपराध अनुसन्धान कार्यालयकै टोलीले १३ पुस २०७३ मा कलंकीबाट पक्राउ गरेको थियो । केही वर्षपछि छुटेका उनी फेरि तस्करी धन्दामा लागेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

चालक लामाले बयानमा बताएअनुसार चीनको नाकासम्म उक्त ट्रक पु¥याउने र त्यहाँबाट भिसा प्राप्त व्यक्तिले ट्रक चीन पु¥याउने गरेका थिए । फेरि यही शैलीमा उताबाट ट्रकमा सुन लिएर आउने र नाका कटाएपछि रसुवाबाट लामाले उक्त मालसमेत लोड भएको ट्रक गन्तव्यसम्म पु¥याउँदै आएका थिए ।
पक्राउ परेका लामा भरियामात्रै, मुख्य योजनाकार उम्कने खतरा !

प्रहरीका अनुसार २५ करोड रुपियाँसहित पक्राउ परेका लामा भरियामात्रै हुन् । आमाको नाममा रहेको ना७ख १६५२ नम्बरको ट्रक उनी चलाउँदै आएका थिए । काठमाडौंको गोकर्ण बस्दै आएका लामाले पनि उक्त रकमबारे आफू जानकार नरहेको प्रहरीसमक्ष दाबी गरेका छन् ।

लामाले उक्त रकम एक चिनियाँ नागरिकले दिएको बयानमा बताएका छन् । ‘सामाखुसीमा ल्याएर एक चिनियाँ नागरिकले रकम गाडीमै दिएका हुन् । त्यसपछि मैले सिटमाथिको सिलिङमा राखेको हुँ’ –चालक लामालाई उद्धृत गर्दै एक प्रहरी अधिकृतले भने । लामाले बयानमा बताएअनुसार उक्त रकम सोमबार साँझमात्रै चिनियाँ नागरिकले उनलाई दिएका थिए । त्यसपछि उनले गाडीमा फल्स बटम बनाएर राखेको तर के सामान हो भन्ने कुरा थाहा नभएको लामाले बताएका छन् ।

पक्राउ परेका लामालाई प्रहरीले राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाइसकेको छ । अब विभागले उनीमाथि अनुसन्धान गरेर मुद्दा चलाउने छ । उनीमाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत मुद्दा चल्ने बताइएको छ । विभागले पनि लामाभन्दा माथिसम्मकै जालो पत्ता लगाउन नसकेमा सुन तस्करीका मुख्य योजनाकार उम्कन सक्ने भय देखिएको छ ।

२५ करोड बरामदसँगै पक्राउ परेका चालक लामाको कल डिटेल्सका आधारमा थप अनुसन्धान गरी माथिसम्मकै जालो पत्ता लगाउन कोसिस गर्छौं । लामाको मोबाइल र कल डिटेल्सबाट थप पत्ता लाग्न सक्छ कि भन्नेमा अनुसन्धानलाई केन्द्रित गर्नेछौं ।

चण्डीप्रसाद घिमिरे
महानिर्देशक, राजस्व अनुसन्धान विभाग (न्युज अफ नेपालबाट )

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x