एसइईको नतिजा सुधार्न १३२ स्वयंमसेवक शिक्षक भर्ना गर्दै प्रदेश सरकार


मधेश प्रदेश सरकारले एसइईको नजिता सुधार गर्न प्रदेशभरि एक सय ३२ स्वयंमसेवक शिक्षक परिचालन गर्ने भएको छ । विद्यालय शिक्षाको गुणस्तर बढाउन तथा उपलब्धिमुलक सिकाइ हासिल गर्न प्रदेश सरकारले प्रदेशका सामुदायिक विद्यालयहरूमा विभिन्न चार विषय अध्यापन गराउने गरी स्वयंसेवक शिक्षक भर्ना गर्न लागेको हो ।
प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले बिहीबार एक सय ३२ जना प्रदेश स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । प्रदेश सरकारले विद्यालय शिक्षालाई सबल, सुदृढ र परिणामुखी बनाउन प्रदेश स्वयंसेवक शिक्षकको अवधारणा ल्याएको हो । एक दशकभन्दा बढी समयदेखि सामुदायिक विद्यालयमा शिक्षकको नयाँ दरबन्दी कायम नभएको र विद्यमान दरबन्दीमा संशोधन एवं परिमार्जन भएको छैन । जसले गर्दा अधिकांश विद्यालयमा विषयगत शिक्षक अभाव र विद्यार्थी अनुपातमा शिक्षक कम छन् ।
प्रदेशका त्यस्ता विद्यालयमा विषयगत शिक्षक व्यवस्थापन गरी तीव्र गतिमा सिकाइ उपलब्धी प्राप्त गर्न प्रदेश स्वयंसेवक शिक्षकको पदपूर्ति गर्न सरकारले दरखास्त आह्वान गरेको मुख्यमन्न्त्री सतिशकुमार सिंहले बताए ।
विद्यालयमा बर्सेनी शिक्षकहरू सेवानिवृत्त हुँदै गएको, अधिकांश विद्यालयमा आंग्रेजी, गणित, विज्ञान र नेपाली विषयका शिक्षक उपलब्ध नरहेको र सोही कारणले कक्षा ९ र १० का विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको छ । यस्तोमा नयाँ पाठ्यक्रम र शिक्षणशैली अनुरूप पठनपाठन गराउन सक्ने अनुभवी तथा तालिमप्राप्त शिक्षकबाट विद्यार्थीलाई गुणात्मक सिकाइमा फड्को मार्न सघाउ पुग्ने शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले बताइन् ।
सामुदायिक विद्यालयका लागि शिक्षक परिपूर्ति गर्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने भएपछि केही योग्य र अनुभवी व्यक्तिले सामान्य रोजगारसमेत पाउने तथा नयाँ पुस्तामा शिक्षण पेसाप्रति आकर्षण बढ्ने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले बताए । नयाँ पत्रिकाबाट
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE