शुक्रबार, बैशाख ५, २०८२
Friday, April 18, 2025

राजधानीमा आज एमालेले शक्ति प्रदर्शन गर्दै

समाजिक सञ्जालमा सत्तारूढ दलले नै सडकमा शक्ति प्रदर्शन गर्न नहुने भन्दै आलोचना
  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

शुक्रबार ७ मंसिर २०८१

काठमाडौं / सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौंको दरबारमार्गमा हुन लागेको छ।

सभा अघि बिहान साढे ११ बजे काठमाडौंको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ। दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ।

एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै अफवाह फैलाइरहेकाहरुलाई जवाफ दिन यो सभा गरेको बताउँदै आएको छ। सभालाई सफल बनाउन एमालेले भक्तपुर, ललितपुर र काठमाडौंसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो संख्यामा मानिस ल्याउने तयारी गरेको छ।

आजै काठमाडौंको कोटेश्वरमा दुर्गा प्रसाई समर्थकको र माइतीघरमा सहकारी पिडितको पनि प्रदर्शन रहेकाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने अनुमान गर्न सकिन्छ।

एमालेले शक्ति प्रदर्शन गर्न लागेको कार्यक्रमलाई ‘जनसभा’को संज्ञा दिएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरुक बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको बताए।

‘शुक्रबारको जनसभाको अन्तिम तयारी पूरा भइसकेको छ, यो मूलतः हामीले लक्षित गरेको जनसमूहलाई उपस्थित गराएर विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरण गर्ने कार्यक्रम हो,’ गौतमले भने।

जनसभामा ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने योजना रहेको उनले बताए । ‘त्यसका लागि काठमाडौं, भक्तपुर र ललितपुर, नगर र गाउँपालिका, जनसंठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने योजना छ, शुक्रबारचाहिँ लक्षित ५०औं हजार मानिसलाई सडकमा उतार्नेगरी कार्ययोजना अगाडि बढाएका छौं,’ उनले भने ।

उनले पुतलीसडक र लैनचौर मार्ग खुला रहनेगरी दरबारमार्गमा सभा हुने बताए । उनले भने, ‘दुवैतिरका सडकहरू, पुतलीसडक, उता लैनचौर मार्गचाहिँ खुला गर्नेगरी दरबारमार्गमा कम ट्राफिकिङ हुने भन्ने कुरा पार्टीको स्थानीय जनता, साथीभाइको सुझावसमेत ध्यानमा राखेर भद्रकालीमा ११ः३० बजे भेला भएर वीर अस्पताल हुँदै दरबारमार्गमा भेला हुने र कार्यक्रम गर्ने हो ।’

उनले एमालेको जनसभाले सुशासन, विकास र समृद्धिको पक्षमा सन्देश दिन खोजेको बताए । विधिको शासन र कानुनी राजको पक्षमा एमाले दृढतापूर्वक उभिँदै आएको बताउँदै उनले कुनै पनि किसिमको अराजकता र अस्थिरतालाई अस्वीकार गर्ने विषयमा समेत जनसभाले सन्देश दिने बताए ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्ने बताइएको छ । सरकारको नेतृत्व गरेको दल र स्वयम् प्रधानमन्त्री नै सडकमा शक्ति प्रदर्शनमा उत्रिएपछि आलोचनासमेत भइरहेको छ ।

विपक्षी दलका नेता कार्यकर्तादेखि समाजिक सञ्जालमा सत्तारूढ दलले नै सडकमा शक्ति प्रदर्शन गर्न नहुने भन्दै आलोचना भइरहेको छ । डिसी नेपालबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv