अनिश्चित समयका लागि राहदानी सेवा स्थगित

शुक्रबार २१ भदौ २०८१
नुवाकोट / जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत सहजीकरण गरेर प्रवाह भइरहेको राहदानी सेवा विद्युतीय राहदानीको बायोमेट्रिक विवरण संकलन प्रणालीमा प्राविधिक समस्या देखिएकाले अनिश्चित समयका लागि स्थगित भएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार “राहदानी विभागमार्फत प्रवाह हुने राहदानी सेवा जिल्ला तहमा जिल्ला प्रशासन कार्यालयमार्फत आवेदन संकलन र वितरणका लागि सहजीकरण हुने गरेको छ,” प्रजिअ अधिकारीले भने, “पछिल्ला दिनमा राहदानीको बायोमेट्रिक विवरण संकलनको सर्भर (नेटवर्क)मा लगातार समस्या देखिएकाले सेवाग्राहीलाई परेको समस्या मध्यनजर गर्दै तत्कालका लागि सेवा रोकिएको हो ।”
राहदानी विभाग र जिल्ला प्रशासन कार्यालयबीचको सर्भरमा प्राविधिक समस्या देखिएको छ । सोही कारण बायोमेट्रिक विवरण संकलनमा कठिनाइले तत्कालका लागि राहदानीको आवेदन फाराम संकलन स्थगित गर्न बाध्य भएको प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।
प्रशासन कार्यालय नुवाकोटले दैनिक ८० जनादेखि एक सयसम्मको आवेदन संकलन गर्दै आइरहेको थियो । छपाइ भएर प्राप्त भएको राहदानीको वितरण कार्य भने सञ्चालन रहेको कार्यालय जनाएको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE