बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

स्पेन र इंग्ल्याण्ड इतिहास रच्ने लक्ष्यमा

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

आइतबार ३० असार २०८१

३० असार, काठमाडौं । युरो २०२४ मिनी विश्वकपको फाइनल खेल आज राति हुँदैछ । फाइनल खेल मध्यराति १२:४५ बजे बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

२४ टोलीले सुरु गरेको यात्रामा अब स्पेन र इंग्ल्याण्ड दुई टोलीमात्र उपाधि होडमा छन् । यी दुई मध्ये एकले जर्मनीको बर्लिनमा युरोको ट्रफी उचाल्ने छ ।

उपाधि दाबेदारकै रुपमा दुई टोली फाइनल पुगेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । स्पेनले सेमिफाइनलमा बलियो डिफेन्स भएको फ्रान्स र इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई पराजित गरेर फाइनल भेट पक्का गरेका हुन् ।

स्पेनले यस युरोमा उत्कृष्ट लय कायम राख्दै फाइनलसम्मको यात्रा तय गर्दा सबै खेल जितेको छ । उता इंग्ल्याण्ड भने अन्तिम समयमा नतिजा उल्टाउँदै संघर्ष गरेर फाइनलसम्म पुगेको हो ।

इतिहास रच्ने अवसर

यी दुई टोली मध्ये फाइनल जसले जिते पनि इतिहास रच्ने छ ।

स्पेनले जर्मनीसँगै अहिलेसम्म सर्वाधिक ३ पटक उपाधि जितेको छ र चौथो पटक जित्ने लक्ष्यमा छ । यदि स्पेन विजयी भएमा युरो चार पटक जित्ने पहिलो टोली बन्नेछ र सर्वाधिक सफल टोली बन्नेछ ।

स्पेनले सन् १९६४ को दोस्रो संस्करणमै उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार उपाधि जितेको थियो । युरो लगातार जित्दा स्पेनले सन् २०१० मा फिफा विश्वकप समेत जितेको थियो ।

इंग्ल्याण्डले भने अहिलेसम्म युरो उपाधि जित्न सकेको छैन । पछिल्लो पटक सन् २०२० को युरोमा फाइनल पुगे पनि इंग्ल्याण्ड घरेलु मैदान वेम्बलीमा इटलीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

इंग्ल्याण्ड लगातार दोस्रो पटक युरो फाइनल खेल्दैछ । इंग्ल्याण्ड विजयी भएमा पहिलो पटक युरो च्याम्पियन बन्नेछ । त्यसका लागि इंग्ल्याण्डले घर बाहिर उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई हराउनुपर्नेछ ।

इंग्ल्याण्डले अहिलेसम्म जितेको एक मात्र ठूलो उपाधि सन् १९६६ को फिफा विश्वकप हो र त्यो पनि घरेलु मैदानमा जितेको थियो ।

स्पेन र इंग्ल्याण्ड एकआपसमा भिड्दा केही खेलाडीमाथि नजर रहनेछ । जो व्यक्तिगत अवार्डको होडमा पनि छन् । इंग्ल्याण्डका कप्तान ह्यारी केन र स्पेनका डाद्दी ओल्मो सर्वाधिक गोलकर्ता बन्ने होडमा छन् । दुवैले समान ३ गोल गरेका छन् । फाइनलमा गोल गर्ने खेलाडी सर्वाधिक गोलकर्ताको दाबेदार बन्नेछ ।

यस्तै उत्कृष्ट खेलाडी बन्ने दौडमा स्पेनका रोड्रि र इंग्ल्याण्डका जुड बेलिङघम छन् । अनलाइनखबर बाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x