शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

मापसे र लापसे नियन्त्रणमा सक्रिय हुँदै नेपाल प्रहरी

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

बिहिवार १८ माघ २०८०
काठमाडौँ /  नेपाल प्रहरीले आर्थिक वर्ष २०८०/०८१ को गत साउनदेखि पुस महिनासम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार २७२ जना  र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २ सय ४२ जनालाई कारवाही गरेको छ । मापसेबाट गरिएको कारवाहीबाट कुल ३ करोड ९९ लाख ६९ हजार रूपैयाँ राजश्व संकलन भएको छ ।
यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनिकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको छ । चालकले मापसे गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गर्ने गरिएको छ । लहै लहैमा लागेर घर भन्दा टाढाको दूरीमा गई मापसे गर्ने र सवारी साधन चलाएर हिँड्ने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाउँछ । सिसिटिभिको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिन्छ । यस्तो प्रवृत्तिलाई निरूत्साहित र मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले विभिन्न समयमा विविध नीति लागू गरी सफल कार्यान्वयन गर्दै प्रभावकारी रूपमा काम गर्दै आएको छ । नेपाल प्रहरीले अवलम्बन गरेका नीतिबारे प्रष्ट पार्दै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउनको लागि प्रत्येक चालकले सही हालतमा सवारी साधन चलाउनुपर्छ । यो कुरालाई स्थानीय स्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक हुन्छ ।”
यस आर्थिक वर्षको ६ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा १८ हजार ६२७ जना, कोशी प्रदेशमा २ हजार ५२४ जना, मधेश प्रदेशमा २ हजार २१ जना, बागमती प्रदेशमा १ हजार ९८ जना, गण्डकी प्रदेशमा ८ हजार ९२३ जना, लुम्बिनी प्रदेशमा २ हजार ७७३ जना, कर्णाली प्रदेशमा १ हजार २६४ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ४२ जना कारवाहीमा परेका छन् । मापसे गरी सवारी चलाउने मात्र होइन मापसे गरी बाटोमा जथाभावी हिँड्नेहरूको कारण पनि सवारी साधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको छ । मापसे र लापसे नियन्त्रणमा ट्राफिक प्रहरीको सक्रियता सम्बन्धमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट भन्नुहुन्छ, “उपत्यकाका धैरै ठाउँमा सवारी साधन चेकिङ गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेको कारण चालकहरू सजग र सचेत भई जनधनको क्षतिमा कमी आएको छ । यसलाई निरन्तरता दिँदै सडक सुरक्षा र दुर्घटना न्यूनिकरणको लागि विषेश जोड दिँदै आएका छौं ।”
सो अवधिमा कारवाहीमा पर्नेहरूबाट काठमाडौं उपत्यकामा १ करोड ८६ लाख २७ हजार रूपैयाँ, कोशी प्रदेशमा २५ लाख ३९ हजार ५ सय रूपैयाँ, मधेश प्रदेशमा २० लाख ४२ हजार ५ सय रूपैयाँ, बागमती प्रदेशमा ११ लाख १७ हजार रूपैयाँ, गण्डकी प्रदेशमा ९५ लाख ६८ हजार रूपैयाँ, लुम्बिनी प्रदेशमा २७ लाख ७३ हजार रूपैयाँ, कर्णाली प्रदेशमा १२ लाख ६० हजार रूपैयाँ र सुदूरपश्चिम प्रदेशमा २० लाख ४२ हजार रूपैयाँ राजश्व संकलन भएको छ । यसैगरी सो अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा ८१ जना, कोशी प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ८८ जना, लुम्बिनी प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा २५ जना कारवाहीमा परेका छन् । मधेश, बागमती र कर्णाली प्रदेशमा कारवाही संख्या शून्य छ ।
मापसे चेकिङका लागि सीमित जनशक्ति र सिसिटिभि क्यामराको न्यून पहुँच छ भने ब्रेथलाइजर लगायतका साधनस्रोत पर्याप्त छैनन् । यसका वावजूद चेकजाँचमा नेपाल प्रहरीको सक्रियता कायम नै छ । नियमित चेकिङको साथै चाडपर्वको बेला जुनसुकै समयमा चेकजाँच हुने गरेको छ । मापसे चेकिङलाई थप प्रभावकारी बनाउने सम्बन्धमा प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “ मापसे लापसे नगरेर सवारी साधन चलाउने कार्यको लागि प्रहरी र नागरिक एकआपसमा सहकार्य र समन्वय गरी आगाडि बढ्नु आवश्यक छ । यही कुरालाई मनन गरेर सरोकारवाला सबैसँग समन्वय र सहकार्य गरेर हामी अगाडि बढेका छौं । हाम्रो मुख्य ध्यान भनेको दुर्घटनाबाट धनजनको क्षति नहोस् भन्ने नै हो ।”

(रिपोर्ट नेपालबाट )

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x