कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन

- काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीको पहलमा आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म वितरण गरिएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको छ।
मन्त्रालयका अनुसार सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठन गरिएको कार्यदललाई छ महिनाभित्र विस्तृत प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। कार्यदलले विगतमा तयार भएका प्रतिवेदनहरूको पुनरावलोकन गर्दै अनुदान वितरणको प्रभावकारिता, दुरुपयोगका सम्भावित घटनाहरू तथा सुधारका उपायहरूबारे अध्ययन गर्नेछ।
कार्यादेश (टीओआर) अनुसार कार्यदलले अनुदान दुरुपयोग भएका भुक्तानीहरूको पहिचान गर्ने, प्रभावकारी प्रणालीहरूको असल अभ्यास संकलन गर्दै ‘ग्याप एनालाइसिस’ गर्ने तथा सुधारका लागि आवश्यक सिफारिस प्रस्तुत गर्नेछ।
नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा करिब २५ प्रतिशत योगदान रहेको कृषि तथा पशुपन्छी क्षेत्रमा सरकारले हरेक वर्ष उत्पादन वृद्धि र व्यावसायिक कृषिलाई प्रोत्साहन गर्न विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर विगतमा अनुदान रकम वास्तविक तथा सीमान्तकृत किसानसम्म नपुगेको, अनुगमन कमजोर रहेको तथा वितरण प्रक्रियामा अनियमितता भएको आरोप लाग्दै आएको छ।
कार्यदलले आफ्नो प्रगति विवरण कम्तीमा महिनामा दुई पटक मन्त्रालयका सचिवसमक्ष पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले यस अध्ययनबाट कृषि तथा पशुपन्छी अनुदान प्रणालीलाई थप पारदर्शी, प्रभावकारी र किसानमुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE