रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय भएको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुङ्गो लगाएको हो। बैठकले आगामी दिनमा सङ्गठन निर्माण र आन्तरिक संरचना सुदृढीकरणलाई प्राथमिकतामा राख्ने निर्णयसमेत गरेको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार प्रथम महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई आगामी राष्ट्रिय राजनीतिका लागि दीर्घकालीन रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
बैठकबाट सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। साथै, सहमहामन्त्री बिपिन कुमार आचार्यको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ।
रास्वपाले वडा तहदेखि पालिका तहसम्म अधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गर्दै देशव्यापी रूपमा सङ्गठन विस्तार गर्ने रणनीति अघि सारेको जनाएको छ। हालसम्म समिति गठन नभएका क्षेत्रलाई प्राथमिकतामा राख्दै जेठ महिनाभर सङ्गठन निर्माण अभियान सञ्चालन गरिने बताइएको छ।
गत चैत २१ गते सम्पन्न आमनिर्वाचनपछि प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले आगामी केही साताभित्र वडा, पालिका तथा स्थानीय संरचनालाई पूर्णता दिने लक्ष्य राखेको छ। विधान संशोधन र सङ्गठनात्मक पुनर्संरचनामार्फत भावी राजनीतिक ‘रोडम्याप’ तय गर्ने तयारीका कारण रास्वपाको यो महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE