नेपाल ‘ए’ को लगातार दोस्रो जित, अमेरिकामाथि ३ विकेटको रोमाञ्चक विजय

शुक्रबार २५ बैशाख २०८३
काठमाडौं । एकदिवसीय अभ्यास शृङ्खलाको दोस्रो खेलमा नेपाल ‘ए’ टोलीले अमेरिकालाई ३ विकेटले पराजित गरेको छ ।
काठमाडौँको माथिल्लो मूलपानी मैदानमा शुक्रबार भएको खेलमा अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
नेपाल ‘ए’ का मयन यादवले उत्कृष्ट ७२ रनको योगदान दिए । अमेरिकाका मिलिन्द कुमारले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । अमेरिकाका स्मित पटेलले शानदार शतक प्रहार गर्दै १ सय ८ बलमा १ सय १६ रन बनाए ।
नेपाल ‘ए’ का पवन सर्राफले २ विकेट लिए भने विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, रशिद खान र नारायण जोशीले समान १–१ विकेट हात पारे ।
यसअघि अभ्यास शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ ले स्कटल्यान्डलाई ४५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाल आएका अमेरिका र स्कटल्यान्डसँग नेपाल ‘ए’ ले अभ्यास शृङ्खला खेलिरहेको हो । नेपाल ‘ए’ ले दुवै टोलीसँग २–२ वटा अभ्यास खेल खेल्ने तालिका छ ।
नेपाल ‘ए’ ले अब शनिबार स्कटल्यान्डसँग तेस्रो अभ्यास खेल खेल्नेछ भने सोमबार अमेरिकासँग चौथो खेल खेल्नेछ ।
यही वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म नेपाल, अमेरिका र स्कटल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता आयोजना हुँदैछ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE