विश्वभर २५७०औँ बुद्ध जयन्ती मनाइँदै
शान्तिका अग्रदूत गौतम बुद्ध को स्मरणमा विविध कार्यक्रम

शुक्रबार १८ बैशाख २०८३
काठमाडौं / ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्ने कालजयी सन्देशका प्रवर्तक गौतम बुद्ध को २५७०औँ जन्मजयन्ती आज नेपालसहित विश्वभर विविध कार्यक्रम गरी श्रद्धापूर्वक मनाइँदै छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीलाई बौद्ध धर्मावलम्बीहरूले बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (निर्वाण) को त्रिसंयोगका रूपमा विशेष महत्त्वका साथ मनाउने गर्दछन्।
भगवान् विष्णुको नवौँ अवतारका रूपमा समेत पूजा गरिने बुद्धप्रति श्रद्धा व्यक्त गर्न देशभरका चैत्य, गुम्बा र विहारहरूमा बिहानैदेखि भक्तजनको उल्लेखनीय उपस्थिति रहेको छ। पूजा, आराधना तथा प्रवचनमार्फत शान्ति र सहिष्णुताको सन्देश प्रवाह भइरहेको छ।
लुम्बिनीदेखि स्वयम्भूसम्म विशेष चहलपहल
लुम्बिनी — बुद्धको जन्मस्थल — मा विशेष समारोह आयोजना गरिएको छ। यसैगरी काठमाडौंका स्वयम्भूनाथ स्तूप, बौद्धनाथ स्तूप तथा नमोबुद्ध लगायत प्रमुख बौद्ध तीर्थस्थलहरूमा श्रद्धालुहरूको भीड लागेको छ।
बौद्ध धर्मगुरु तथा लामाहरूले परम्परागत विधिअनुसार पूजापाठ गर्दै विश्व शान्तिको कामना गरेका छन्।
सिद्धार्थदेखि बुद्धसम्मको यात्रा
ईसा पूर्व ५६३ मा लुम्बिनी मा राजा शुद्धोधन र माता मायादेवीका पुत्रका रूपमा जन्मिएका सिद्धार्थ गौतमले मानव जीवनका दुःख—रोग, बुढ्यौली र मृत्यु—बारे गहिरो चिन्तनपछि २९ वर्षको उमेरमा दरबार त्याग गरेका थिए।
दीर्घ तपस्यापछि उनले बोधगया मा ज्ञान प्राप्त गरी ‘बुद्ध’ बनेका थिए। त्यसपछि उनले संसारलाई पञ्चशील र मध्यम मार्गको सन्देश दिएका थिए।
सान्दर्भिकता अझ बढ्दो
वर्तमान विश्वमा बढ्दो हिंसा, द्वन्द्व र अशान्तिका बीच बुद्धका शिक्षा अझ सान्दर्भिक बन्दै गएका छन्। “मनको शान्ति नै विश्व शान्तिको आधार हो” भन्ने उनको दर्शनले व्यक्ति, समाज र राष्ट्रबीच सहअस्तित्व र एकताको सन्देश दिन्छ।
बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ। साथै देशभर दीप प्रज्वलन, रक्तदान, फलफूल वितरण तथा शान्ति पदयात्रा जस्ता सामाजिक तथा धार्मिक कार्यक्रमहरू आयोजना भइरहेका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE