शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026

सबैका माग समेटेर संवैधानिक समाधान खोजौँ : ज्ञानेन्द्र शाह

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

सोमबार ३० चैत २०८२
काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहले देशका सबै पक्षका माग समेट्दै संवैधानिक समाधान खोज्नुपर्ने बताएका छन्। नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक निषेध, द्वेष र प्रतिशोध त्यागेर सहमति र सहकार्यको बाटो रोज्नुपर्नेमा जोड दिएका हुन्।
उनले निषेध, फुट, बन्द र विद्रोहले राष्ट्रलाई कमजोर बनाउने उल्लेख गर्दै संवाद र सहमतिका माध्यमबाट सबै पक्षको माग सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे। “परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनु हुँदैन,” उनले भनेका छन्।
पूर्वराजा शाहले विगतका वर्षहरूमा राजनीतिक, प्रशासनिक तथा शासन प्रणालीमा धेरै परिवर्तन भए पनि ती परिवर्तन जनताको जीवनमा अनुभूत हुन नसकेको टिप्पणी गरेका छन्। देश विकासभन्दा बढी प्रयोग र अभ्यासको थलो बनेको उनको भनाइ छ।
उनले वर्तमान राजनीतिक प्रणालीले जनअपेक्षा पूरा गर्न नसकेको संकेत गर्दै राजनीति जनताको सेवाभन्दा शक्ति प्राप्तिको माध्यम बनेको उल्लेख गरेका छन्। साथै, खस्कँदो आर्थिक अवस्था र रोजगारी अभावका कारण दैनिक रूपमा युवाहरू विदेशिन बाध्य भइरहेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्।
स्वदेशमै रोजगारी सिर्जना गर्न नसकिए राष्ट्रको भविष्य संकटमा पर्न सक्ने चेतावनी दिँदै उनले जिम्मेवार निकायलाई समयमै सचेत हुन आग्रह गरेका छन्।
त्यसैगरी, नेपालको भूराजनीतिक संवेदनशीलता उल्लेख गर्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकता जोगाउन सबै नेपाली एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्। बाह्य प्रभाव र आन्तरिक विवादले देशको मौलिक पहिचानमा असर पारिरहेको उनको विश्लेषण छ।
पूर्वराजा शाहले निषेधको राजनीति त्यागेर साझा सहमति र नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै संवाद, सहमति र सहकार्यमार्फत संवैधानिक समाधान खोज्न आह्वान गरेका छन्।
नयाँ वर्ष २०८३ को अवसरमा उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x