मस्जिद अगाडि बाजा बजाउने विषयमा विवाद, गौरमा झडप र हवाई फायर

रौतहट, ८ फागुन २०८२ (शुक्रबार)
रौतहटको गौर नगरपालिका–६ सबगढामा विवाहको जन्ती र स्थानीय मुस्लिम समुदायबीच विवाद चर्किँदा दोहोरो झडप भएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले १२ राउण्ड हवाई फायर तथा ४० सेल अश्रुग्यास प्रहार गरेका छन्।
जिल्ला प्रहरीका अनुसार फागुन ७ गते राति करिब ९:५० बजे बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरतर्फ जाँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो। राति नै ढुंगा हानाहान हुँदा ६ जना घाइते भएका थिए।
सोही विषयलाई लिएर शुक्रबार बिहान ९:१५ बजे पुनः दुवै पक्षका करिब ५०० जनाको सहभागितामा झडप भएको हो। अवस्था तनावग्रस्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको थियो। भीड नियन्त्रणका लागि १२ राउण्ड ब्ल्याङ्क (हवाई) फायर र ४० सेल अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ। हाल स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा रहेको छ।
झडपमा परी थप ६ जना घाइते भएका छन्। घाइते हुनेहरूमा २७ वर्षीय रामप्रवेश साह, १४ वर्षीय महम्दिन मिया, २० वर्षीय शेख सही आलम मिया, १७ वर्षीय शेख सहिब र ४२ वर्षीय महम्मद खुर्सेद रहेका छन्। उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको जनाइएको छ।
यस्तै, ड्युटीमा खटिएका प्रहरी जवान राजेश ठाकुरसहित दुई सुरक्षाकर्मी पनि सामान्य घाइते भएका थिए। उपचारपछि उनीहरू डिस्चार्ज भइसकेका छन्।
घटनालाई साम्य पार्न तथा विवाद समाधानका लागि शुक्रबार दिउँसो ३ बजेदेखि जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्थानीय प्रशासनले संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणलाई अपिल गरेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE