विश्व शान्तिमा नेपाली सेनाको योगदान गर्वलायक

काठमाडौं, १ फागुन २०८२
Nepali Army ले विश्व शान्ति स्थापनामा पुर्याउँदै आएको योगदान अन्तर्राष्ट्रिय स्तरमै प्रशंसनीय बनेको छ। United Nations को शान्ति अभियानमा सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाएर औपचारिक सहभागिता सुरु गरेको नेपाली सेना आज विश्व मञ्चमा भरपर्दो र व्यावसायिक ‘ब्लु हेल्मेट’ का रूपमा स्थापित भएको छ।
हालसम्म ४४ वटा शान्ति मिसनमा एक लाख ६२ हजार ४९६ नेपाली शान्ति सैनिक परिचालित भइसकेका छन्। उनीहरूले राष्ट्रसंघीय शान्ति पदक प्राप्त गरेका छन्। विश्व शान्ति अभियानमा तीन हजार ६६६ भन्दा बढी नेपाली महिला शान्ति सैनिकको सहभागिता रहेको छ, जसले महिला सहभागितामा नेपाललाई अग्रणी राष्ट्रका रूपमा उभ्याएको छ।
हाल विश्वका १० शान्ति मिसनमा ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन्। विसं २०७९ मंसिरमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथीपछि नेपाल शान्ति सैनिक खटाउने राष्ट्रमध्ये पहिलो वरियतामा पुगेको थियो। त्यसबेला नेपाली शान्ति सैनिकको संख्या छ हजार १६ पुगेको थियो।
शान्ति अभियानमा योगदानका क्रममा हालसम्म ७४ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ७७ जना गम्भीर घाइते भएका छन्। उनीहरूको समर्पण र बलिदानलाई राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय समुदायले उच्च सम्मान गर्दै आएको छ।
नेपाली सेनाका उच्च अधिकृतहरूले विभिन्न द्वन्द्वग्रस्त मुलुकमा फोर्स कमान्डरको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएका छन्। दक्षिण सुडानमा हाल बलाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ कार्यरत छन्।
काठमाडौँस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई ‘सेन्टर अफ एक्सेलेन्स’ का रूपमा विकास गर्ने लक्ष्यसहित पूर्वाधार स्तरोन्नतिको कार्य भइरहेको छ। यहाँ शान्ति स्थापनासम्बन्धी विभिन्न विशिष्ट तालिम सञ्चालन हुँदै आएको छ।
शान्ति मिसनमा सहभागिताबाट नेपालले विदेशी मुद्रा आर्जन गर्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउँदै आएको छ। राष्ट्रसंघबाट अनुरोध आएमा ६० दिनभित्र आवश्यक जनशक्ति र उपकरणसहित मिसनमा पठाउन सक्ने तयारी अवस्थामा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
२६३औँ वार्षिकोत्सव मनाइरहँदा नेपाली सेना विश्व समुदायमाझ अनुशासित, विश्वासनीय र भरपर्दो शान्ति सैनिकको पहिचान बनाउन सफल भएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE