भेरी अस्पताललाई मेडिकल कलेज बनाउन उम्मेदवारी दिएको हुँ : आजपा बाँके–३ की उम्मेदवार विध्या शर्मा

मङ्गलबार २७ माघ २०८२
नेपालगंज / आम जनता पार्टी (आजपा) की नेतृ तथा बाँके–३ की उम्मेदवार विध्या शर्माले नेपालगंजस्थित भेरी अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्ने घोषणा गरेकी छन्।
नेपालगंज उपमहानगरपालिकाका जयसपुर, कर्भौना, परसपुर र साइगाउँमा आयोजित चुनावी छलफल तथा मतदाता भेटघाटका क्रममा शर्माले बाँके जिल्ला सुगम भए पनि यहाँका नागरिकले अझै गुणस्तरीय स्वास्थ्य सेवा नपाएको बताइन्। यस क्षेत्रका लागि एउटा मेडिकल कलेज अपरिहार्य रहेको उनको भनाइ छ।
“नेपालगंज लुम्बिनी प्रदेश मात्र होइन, कर्णाली प्रदेशको समेत स्वास्थ्य केन्द्र हो। यहाँ बाँकेसहित कर्णालीका विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन्,” शर्माले भनिन्, “तर सरकारी अस्पतालमा गरिब, निमुखा र आवाजविहीन नागरिकले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा नपाएको गुनासो छ। त्यसैले भेरी अस्पताललाई मेडिकल कलेज बनाउने पहल गर्ने प्रतिबद्धता लिएर म उम्मेदवार बनेकी हुँ।”
भेरी अस्पताल मेडिकल कलेज बनेमा यस क्षेत्रका नागरिकले गुणस्तरीय स्वास्थ्य उपचार पाउने मात्र नभई विद्यार्थीहरूले एमबिबिएससम्मको अध्ययन गर्न सक्ने अवसर पनि सिर्जना हुने शर्माले बताइन्।
उनले बाँके जिल्लामा स्वास्थ्यसँगै खानेपानी, जेष्ठ नागरिक सेवा, कृषि, सिँचाइ, मल र बिउजस्ता आधारभूत समस्या रहे पनि विगतमा निर्वाचित नेताहरूले प्रभावकारी काम नगर्दा नागरिकले दुःख भोग्दै आएको उल्लेख गरिन्।
“बाँके–३ बाट विजयी भए यी सबै समस्याको ठोस समाधानका लागि काम गर्छु र नागरिकलाई आवश्यक सेवा–सुविधा दिलाउनेछु,” शर्माले प्रतिबद्धता व्यक्त गरिन्।
बाँके जिल्लामा भ्रष्टाचार, आत्महत्या, सडक यातायात, बेरोजगारी र पर्यावरणसम्बन्धी समस्या गम्भीर रहेको जनगुनासो रहेको उल्लेख गर्दै उनले यी सबै समस्याको समाधानका लागि योजनाबद्ध रूपमा काम गर्ने बताइन्। सरकारी सेवासुविधामा हुने अनियमितता र भ्रष्टाचार अन्त्य गरी सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउने उनको भनाइ छ।
आजपाको एजेण्डा शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यावरण र आधारभूत सेवासुविधामा केन्द्रित रहेको उल्लेख गर्दै शर्माले आफू निर्वाचित भए शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सेवा प्रभावकारी बनाउँदै सबै नागरिकलाई निःशुल्क र सहज पहुँच सुनिश्चित गर्ने बताइन्।
बाँके जिल्लाको समग्र विकाससँगै धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै शर्माले यस क्षेत्रको विकासका लागि सधैं अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता जनाइन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE