ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय र नारायणी अस्पताललाई मेडिकल कलेज बनाउने प्रतिबद्धता : आजपा नेतृ रन्जु साह
वीरगंजलाई मुलुककै आर्थिक राजधानी बनाउने घोषणा

वीरगंज / आम जनता पार्टी (आजपा) की नेतृ तथा पर्सा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रन्जुकुमारी साह ले वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविद्यालय र नारायणी अस्पताललाई मेडिकल कलेज मा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
पर्सा क्षेत्र नं. २ अन्तर्गत पर्सागढी, फुलवरिया, रघुनाथपुर, बहुअर्वा, सोङगड, पकडिया, मानवा, एकटांगा, हर्दिया लगायतका विभिन्न गाउँमा आयोजित चुनावी छलफल तथा मतदाता भेटघाटका क्रममा नेतृ साहले यस्तो घोषणा गरेकी हुन्।
उनले भनिन्,
“म अहिले चुनावी छलफल र जनतासँग प्रत्यक्ष भेटघाटमा छु। निर्वाचनमा विजयी भएपछि ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविद्यालय, नारायणी अस्पताललाई मेडिकल कलेज, नारायणी रंगशाला तथा आदर्शनगर रंगशालाको पुनर्निर्माण जस्ता दीर्घकालीन र महत्वपूर्ण कामहरू गर्ने मेरो स्पष्ट प्रतिबद्धता छ।”
नेतृ साहले पर्साबाट भोट लिएर सांसद र मन्त्री बन्ने तर विकासमा ध्यान नदिने प्रवृत्तिप्रति आम मतदाताले आक्रोश व्यक्त गरिरहेको बताइन्। पर्सा मुलुककै आर्थिक प्रवेशद्वार र सम्भावनायुक्त क्षेत्र भए पनि यहाँको विकासमा विगतका जनप्रतिनिधिहरूले बेवास्ता गरेको गुनासो व्यापक रहेको उनको भनाइ थियो।
वीरगंजलाई मुलुककै आर्थिक राजधानी बनाउने लक्ष्यसहित उद्योग, व्यापार र व्यवसायलाई व्यवस्थित गर्दै रोजगार सृजना, शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रमा प्रभावकारी काम गर्ने उनले बताइन्।
लामो समयदेखि अलपत्र अवस्थामा रहेको एकटांगा पुल १९ वर्षदेखि अधुरो रहेको उल्लेख गर्दै नेतृ साहले सबैभन्दा पहिला त्यसको निर्माण सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता जनाइन्। यस्तै हर्दिया र तिलावे खोलाका पुल निर्माण नहुँदा स्थानीय नागरिकले भोग्नुपरेको दुःखको अन्त्य गरिने उनले स्पष्ट पारिन्।
उनले थप भनिन्,
“निर्वाचनमा विजयी भएपछि पार्टीका श्रद्धेय अध्यक्ष प्रभु साहकी धर्मपत्नी तथा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले आफ्नो नगरपालिकामा गरेका उत्कृष्ट कामहरू पर्सामा पनि लागू गर्नेछु।”
मौलापुर नगरपालिकामा शून्य कर नीति, निःशुल्क पानी, बिजुली, शिक्षा र स्वास्थ्य सेवा लागू रहेको उल्लेख गर्दै नेतृ साहले छोरीको जन्मदेखि शिक्षा, स्वास्थ्य र विवाहसम्म पालिकाले सहयोग गर्दै आएको बताइन्। छोरीको विवाहमा पालिकाले अभिभावकको भूमिका निर्वाह गर्दै ३० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराउँदै आएको उदाहरण दिँदै पर्सामा पनि यस्ता सामाजिक कार्यक्रम लागू गरिने प्रतिबद्धता जनाइन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE