सञ्चार माध्यमले उम्मेदवारको प्रचार–प्रसार गर्न नपाउने

काठमाडौं, माघ २० — निर्वाचन आयोगले कुनै पनि सञ्चार माध्यमले कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन तथा प्रसारण गर्न नपाउने स्पष्ट पारेको छ। आयोगले निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद ७ मा उल्लिखित व्यवस्थाको कडाइका साथ पालना गर्न सबै सञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको हो।
आयोगका अनुसार हाल केही सञ्चार माध्यमहरूले आचारसंहिताको उल्लङ्घन गर्दै विशेष उम्मेदवारको पक्षमा समाचार प्रकाशन तथा प्रसारण गरिरहेको पाइएको छ। यस्तो कार्य आचारसंहिताविपरीत हुने भन्दै उल्लङ्घन गर्ने सञ्चार माध्यमहरूलाई स्पष्टीकरण सोधिने चेतावनी दिइएको छ।
निर्वाचन आयोगद्वारा जारी आचारसंहितामा कुनै पनि राजनीतिक दल, उम्मेदवार वा निजका प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नपाइने व्यवस्था गरिएको छ। साथै सञ्चार प्रतिष्ठान, सम्बन्धित कर्मचारी तथा पत्रकारहरूले निर्वाचन अवधिभर पालना गर्नुपर्ने स्पष्ट आचारणसम्बन्धी नियमहरू तोकिएका छन्।
सञ्चार माध्यम र सञ्चारकर्मीले पालना गर्नुपर्ने प्रमुख नियमहरू
कुनै राजनीतिक दल, उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने।
कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने।
जात, जाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग वा क्षेत्रबीचको सद्भावमा खलल पुग्ने, भेदभावपूर्ण सामग्री प्रकाशन तथा प्रसारण गर्न नहुने।
राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचार–प्रसारका लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने।
दफा १५ बमोजिम निर्वाचनसम्बन्धी विज्ञापन प्रकाशन वा प्रसारण गर्दा सो विज्ञापन सशुल्क भएको स्पष्ट जनाउनुपर्ने।
कसैको पक्ष वा विपक्षमा एसएमएस, सामाजिक सञ्जाल, अनलाइन वा अन्य विद्युतीय माध्यममा एआई प्रयोग गरेर वा नगरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट, लाइभ, स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्न नहुने।
सूचनाको स्रोतको गोपनीयता भंग गर्न नहुने।
राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारको एकाघरका परिवारको मान–प्रतिष्ठामा आँच पुर्याउने, गलत वा भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न नहुने।
निर्वाचनबारे नकारात्मक सन्देश प्रवाह गर्ने लेख, तस्बिर वा समाचार प्रकाशन तथा प्रसारण गर्न नहुने।
निर्वाचन तथा उम्मेदवारसम्बन्धी भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न नहुने।
निर्वाचन आयोगले निष्पक्ष, मर्यादित र जिम्मेवार पत्रकारितामार्फत निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबै सञ्चार माध्यम र सञ्चारकर्मीलाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE