सत्ताको भागबन्डामा सहभागी हुन चाहन्नँ : प्रचण्ड
‘अब मेरो बाँकी जीवन शहीदका सपना र नयाँ पुस्ताको भविष्यका लागि समर्पित छ’

आइतबार १८ माघ २०८२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डामा सहभागी हुन नचाहेको स्पष्ट पारेका छन्। आइतबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले सन्तान, जीवनसंगिनी र सहयोद्धा गुमाइसकेपछि आफूलाई अब सत्ताको कुनै लोभ नरहेको बताएका हुन्।
‘सन्तान, जीवनसंगिनी र सहयोद्धाहरू गुमाएपछि मलाई अब सत्ताको लोभ छैन,’ दाहालले भने, ‘मेरो बाँकी जीवन शहीदका सपना पूरा गर्न र यो नयाँ पुस्ताको भविष्य सुरक्षित गर्नका लागि मात्र समर्पित छ।’
दाहालले आफ्नो जीवनमा एक व्यक्तिले गुमाउन सक्ने सबै कुरा गुमाइसकेको उल्लेख गर्दै आफूले गरेको संघर्ष व्यक्तिगत नभई हजारौँ शहीदहरूको सपना साकार पार्ने यात्राको हिस्सा भएको बताए। उनले परिवर्तन अनिवार्य भएको र त्यसलाई पुर्याएरै छाड्ने दाबी पनि गरे।
‘म हार मान्न तयार छैन, किनकि मेरो काम अझै सकिएको छैन,’ उनले भने, ‘म भोट माग्न आएको होइन, स्वतन्त्र चिन्तनका लागि अपील गर्न आएको हुँ।’
युवापुस्ताले उठाइरहेका भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारको माग आफूले जनयुद्धका दिनदेखि नै उठाउँदै आएको दाहालको भनाइ छ। उनले राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेकोमा जोड दिए।
‘यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई धेरै पछाडि धकेल्यो,’ दाहालले भने, ‘मेरो माग र तपाईँहरूको माग एउटै हो। म तपाईँहरुकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ।’
आफू पुराना नेताहरूको भीडमा नरहेको दाबी गर्दै दाहालले सत्ताको भागबन्डाको सम्झौताले देशलाई बन्धक बनाएको आरोप लगाए। ‘म त्यस्तो भागबन्डामा कहिल्यै सहभागी हुन चाहन्नँ,’ उनले स्पष्ट पारे।
नयाँ पुस्तालाई स्वागत गर्दै उनले सामाजिक सञ्जालका भ्रमबाट सचेत रहन आग्रह गरे। ‘हरेक चम्किलो चिज हिरा हुँदैन,’ उनले भने, ‘प्रश्न सोध्न नछोड्नुस्, मलाई दबाब दिनुस्, म जवाफ दिन तयार छु।’
दाहालले अन्त्यमा शहीदहरूप्रति सम्मान व्यक्त गर्दै युवाले भविष्य खोज्न विदेशिनु नपर्ने नेपाल निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरे।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE