शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

निर्वाचन आचार संहिताको पालना गर्ने उम्मेदवारहरूको प्रतिबद्धता

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

शनिबार १७ माघ २०८२
म्याग्दी / आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीका उम्मेदवारहरूले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्ने तथा जिल्लाको समग्र विकासका लागि दलगत सीमाभन्दा माथि उठेर एकताबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
म्याग्दी जेसीजद्वारा शुक्रबार बेनीमा आयोजित प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले म्याग्दीको विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएको बताउनुभयो। बदलिँदो राजनीतिक परिवेशअनुसार कांग्रेस पनि परिवर्तन भएको उल्लेख गर्दै उहाँले विकास, समृद्धि र सुशासनलाई सँगसँगै अघि बढाउने अभियानको नेतृत्व कांग्रेसले गर्ने दाबी गर्नुभयो।
“पार्टीभित्रका समस्या समाधान गर्दै मुलुकका समस्या समाधानतर्फ केन्द्रित भएका छौँ। आगामी संसदमा नीति निर्माण र जिल्लाको विकासलाई तीव्रता दिन जनताको समर्थन आवश्यक छ,” उहाँले भन्नुभयो।
नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले म्याग्दीको आवश्यकता र सम्भावनालाई समेटेर विज्ञसहितको टोलीबाट चुनावी घोषणापत्र तयार गरिएको जानकारी दिनुभयो। कानुन निर्माण, सरकार गठन, बजेट तथा कार्यक्रम निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कृषि, शिक्षा, सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
नेकपा माओवादी केन्द्रका उम्मेदवार क्षेत्रबहादुर घिमिरेले जिल्लाको विकासका लागि एकीकृत गुरुयोजना आवश्यक रहेको उल्लेख गर्नुभयो। शिक्षा र स्वास्थ्य सेवालाई राज्यको प्रत्यक्ष जिम्मेवारीमा ल्याउँदै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफूलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना तथा राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्माले पनि जिल्लाको पूर्वाधार विकास, सुशासन र आवश्यक कानुन निर्माणका लागि संसदमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा उम्मेदवारहरूले सहभागीले उठाएका प्रश्न र जिज्ञासाको प्रत्यक्ष उत्तरसमेत दिएका थिए। म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेशकुमार विश्वकर्माले मैत्रीपूर्ण प्रतिस्पर्धा, निर्वाचन आचार संहिताको पालना र जनताप्रति उत्तरदायी उम्मेदवार निर्माणमा कार्यक्रमले सकारात्मक भूमिका खेलेको बताउनुभयो।
म्याग्दी जिल्लामा एक जना स्वतन्त्रसहित १२ जना राजनीतिक दलका उम्मेदवारको उमेदवारी कायम रहेको छ। एक निर्वाचन क्षेत्र र छ स्थानीय तह रहेको जिल्लामा ८६ हजार ३९७ मतदाता, ८२ मतदान स्थल र १२० मतदान केन्द्र रहेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x