राजनीतिक पूर्वाग्रह एवं प्रतिशोधको आधारमा आपराधिक कार्य गर्ने रूपनारायण साहलाई कारवाही गर्न आजपाको माग

मंगलबार ७ असोज २०८२
रौतहट / आम जनता पार्टी (आजपा) रौतहट जिल्ला कमिटीका अध्यक्ष नरेश तुराहाले पार्टी अध्यक्ष प्रभु साह र मौलापुरका मेयर रिनाकुमारी साहको मौलापुर नगरपालिका–५ स्थित घरमा भएको आक्रमण, लुटपाट, तोडफोड र आगजनी लगायतको विध्वंसात्मक गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
आजपा अध्यक्ष तुराहाले आज एक विज्ञप्ती जारी गर्दै सो घटनामा संलग्नलाई प्रहरीले कारवाही गर्नुको साटो पीडित परिवारलाई नै स्थानीय प्रहरी प्रशासनले झुठा मुद्धा लगाउने प्रपंचको भत्र्सना र निन्दा गरेका छन् ।
‘जेनजी आन्दोलनको आडमा यही भाद्र २४ गते मौलापुर नगरपालिकामा एमाले नेता रूपनारायण साहको पेट्रोल पम्पमा भेला भई राजनीतिक पूर्वाग्रह एवं प्रतिशोधको आधारमा हाम्रो आम जनता पार्टीका श्रद्धेय राष्ट्रिय अध्यक्ष मा. प्रभु साहज्यूको मौलापुर– ५ मा रहेको घरमाथि नियोजित रूपमा भएको आक्रमण, लूटपाट, तोड़फोड़ र आगजनी लगायतको विध्वंसात्मक गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ आजपा अध्यक्ष तुराहाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सो घटना भएको समयमा एकलै घरमा रहेकी मौलापुरकी मेयर रिना साहले जीउधनको सुरक्षाका लागि घण्टौसम्म हारगुहार माग्दा शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी प्रशासनको तर्फबाट कुनै पहलकदमी नलिएको प्रति आजपाले दुख व्यक्त गरेको छ । सोही समयमा घर बाहिरबाट फर्किदै गरेको साहका छोरा विवेक साह सहितको गाउँलेहरुको साथ सहयोगमा रुपनारायण साह नेतृत्वको अपराधिक झुण्डलाई लखेट्न सफल भएको उनले जनाएका छन् ।
‘यस घटनाको समयमा एकलै रहनुभएको हाम्रो अध्यक्षको पत्नी तथा मौलापुर नगरपालिकाको नगर प्रमुख रीना कुमारी साहले जीउधनको सुरक्षाका लागि घण्टौसम्म हारगुहार मागी रहदा समेत शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी प्रशासनको तर्फबाट कुनै पहलकदमी नदेखिएको अवस्थामा बाहिरबाट घर फर्कीदै गरेको अध्यक्षको छोरा विवेक साह सहितको गाउँलेहरूको साथ–सहयोगमा रूपनारायण साह नेतृत्वको अपराधिक झुण्डलाई लखेट्न सफल भएको विषय विशेष स्मरणीय छ,’ विज्ञप्तीमा भनिएको छ ।
आफ्नो सुरक्षाको लागि अपराधीहरूको प्रतिवाद गर्नेलाई प्रोत्साहन एवं सम्मान गर्नुको सट्टा उल्टै पीडकलाई नै पीडित बनाएर पीडित परिवारका सदस्य विवेक साह लगायतका व्यक्तिहरूमाथि झुटा मुद्दा लगाउने स्थानीय प्रहरी प्रशासनको प्रपंचप्रति आजपाले भत्र्सना गरेको छ ।
‘आजको मोबाइल फोन, सिसिटिभी क्यामेरा लगायतका अत्याधुनिक युगमा पनि स्थानीय प्रहरी प्रशासनद्वारा सोझै दिनलाई रात बनाउने गरी गरिएको षड्यन्त्रपूर्ण कार्य खेदजनक विषय मात्र नभई दण्डनीय अपराधसमेत रहेको सन्दर्भमा यस घटनाको तत्काल निष्पक्ष छानबिन गरी आमलाई इमली बनाउने प्रहरी अधिकृत लगायत यस अपराधमा संलग्न सबै अपराधीहरूलाई तथ्य र प्रमाणको आधारमा कानुन बमोजिम दण्डित गर्न जोड़दार माग गर्दछौं,’ आजपाले विज्ञप्तीमा उल्लेख गरेको छ ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE