शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

औद्योगिक करिडोरमा रहेको उद्योगहरूको प्रदूषणविरुद्ध स्थानीय आन्दोलित

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares
बारा / साउन १७ गते वीरगन्ज-पथलैया औद्योगिक करिडोरमा रहेको गणपति घ्यू उद्योग र नन्दन घ्यू उद्योग अगाडि जितपुरसिमरा उपमहानगरपालिका–५ का १३ वर्षीय बालक सन्दीप मुखियाको शव राखेर क्षतिपूर्तिको माग गर्दै दिनभरि प्रदर्शन भयो।

ती उद्योगहरूबाट निस्किएको दूषित पानी जम्मा भएको उद्योग जितपुरसिमरा उपमहानगरपालिकामा-५ स्थित सिर्सिया कुलो (बर्खि बाँध)मा ती बालकको डुबेर मृत्यु भएपछि बालकको शव उद्योग अगाडि राखेर प्रदर्शन गरिएको हो।

उद्योगबाट निस्किएको प्रदूषित पानी जमेको कुलोमा डुबेर छोराको मृत्यु भएको भन्दै मृतकका आमा अञ्जुले आफन्तसँगै छोराको शवसहित प्रदर्शनमा उत्रेकी थिइन्।

गणपति घ्यू, नन्दन घ्यू, अशोक स्टिल लगायतका उद्योगबाट निस्कने प्रदूषित र रसायनयुक्त पानी उक्त कुलो हुँदै बग्ने गरेको थियो। ‘ती उद्योगहरूबाट निस्कने पानी दूषित नभएको भए मेरो छोराको ज्यान जाने थिएन,’ मृतक सन्दीपका आमा अञ्जुले भनिन्, ‘उद्योगहरूबाट निस्केको दूषित पानीले छोराको ज्यान लियो।’

प्रशोधन नगरी छोडिएको प्रदूषित पानीका कारण उक्त क्षेत्र अत्यन्तै दुर्गन्धित समेत हुनेको गरेको स्थानीयहरूले बताएका थिए।

दुर्गन्धित र प्रदूषित पानीमा बालकको शव भेटिएपछि शल्य परीक्षणका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको थियो। शल्यपरीक्षणका क्रममा बालकको मृत्यु विषाक्त पानीकै कारण भएको देखिएको छ।

मृतकका आफन्त र स्थानीयले क्षतिपूर्तिसहित उद्योगलाई कारबाहीको मागसहित प्रदर्शनमा उत्रेपछि गणपति घ्यू उद्योग र नन्दन घ्यू उद्योगले तीन तीनलाई रुपैयाँ क्षतिपूर्ति दिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताएका छन्।

डिएसपी जोशीले पीडित पक्ष, जनप्रतिनिधि र उद्योग प्रशासनबीच छलफलपछि उक्त क्षतिपूर्ति रकम तिराएको बताए।

बालकको शव तेर्स्याएर पीडित पक्ष उद्योग अगाडि प्रदर्शन गर्दा उद्योगी र मृतकका आफन्तलाई एकै ठाउँमा राखेर छलफलको लागि वातावरण बनाइएको उनले बताए।

उद्योगहरूको प्रदूषणले एक बालकको ज्यान लिएको यो देखिने उदाहरण भए पनि प्रदर्शनले प्रत्यक्ष नदेखिने तर मानवको लागि अति नै घातक धेरै रोगहरू लाग्ने गरेका छन्।

देशकै ठुलो औद्योगिक करिडोरको रूपमा रहेको वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगहरूको जथाभावी प्रदूषणले खोलानालाहरू दूषित हुनुका साथै हावालाई समेत दूषित बनाएको स्थानीयहरूको आरोप छ।

सिमरामा सञ्चालित रहेको अशोक स्टीलले उद्योगको भट्टीबाट निस्कलने धुँवालाई प्रशोधन नै नगरी सिधै छोड्ने गर्दा त्यस क्षेत्रमा दिउँसै कालो धुवाँले अँध्यारो हुने गरेको र श्वास लिन समेत समस्या हुने गरेको बकुलियाका स्थानीय दशै रामले बताएका छन्।

‘दिनहुँ भट्टीबाट निस्कने धुवाँ घर भित्रसम्म पुग्ने गरेको छ,’ अशोक स्टीलसँग टाँसिएको बकुलहर टोलका दशै रामले भने, ‘धुवाँले गर्दा आँखा पोल्नुको साथसाथै जीवहरू चिलाउने र श्वास लिनमा समेत समस्या हुने गरेको छ।’

धुवाँले घरमा बस्न समस्या भएको बारेमा उद्योगका सञ्चालक पुनम अग्रवाललाई भन्दा अग्रवालले धुवाँलाई व्यवस्थित गर्ने कुनै कार्य नगरेको स्थानीयले बताए।

मानव स्वास्थ्यको लागि हानिकारक धुवाँलाई जथावाभी रूपमा वातावरणमा छोड्ने गरिए पनि कारबाही गर्ने निकाय मौन बस्दै आएको आरोप रामले लगाए।

अशोक स्टीलले चिम्नीको माध्यमले कवाड पगाल्ने भट्टीबाट निस्कने धुवाँलाई प्रशोधन गरेर चिमनीको माध्यमले त्यसलाई ३२ फिटभन्दा माथि आकाशमा फाल्नुको साटो त्यस्तै फाल्दा उद्योग वरिपरि कालो धुवाँले दिउँसै अँध्यारो हुने गरेको छ।

कालो धुवाँले गर्दा उद्योग वरिपरि घर भएका स्थानीयहरूका साथै वीरगन्ज-पथलैया राजमार्गमा हिँड्डुल गर्ने सर्वसाधारणहरूलाई सास्ती हुँदै आएको छ।

फलामको कवाड पगाल्ने अशोक स्टीलको भट्टीबाट निस्कने धुवाँमा कार्बनडाइअक्साइड, कार्बनमनोअकसाइड र नाइट्रोजन डाइअकसाइड लगायका स्वास्थ्यका लागि हानिकारक ग्याँसहरू मिसिएका हुन्छन्। यस्ता हानिकारक धुवाँलाई अद्योगले जथाभवी फाल्दा दिनहुँ सास्ती खोप्नु परेको जीतपुरसिमरा उपमहानगरपालिका औराहा निवारी कुलाप्रसाद घिमिरेले गुनासो गरेका छन्।

अशोक स्टीलबाट निस्कने कालो धुवाँले उद्योग वरिपरिका स्थानीय र राजमार्गमा ओहोरदोहोर गर्ने सास्ती हुने गरेको गुनासो घिमिरेले गरे।

पुरानो कवाड फलामहरूलाई उद्योग भित्र रहेको भट्टी(बवाईलर)मा पगालेर त्यसबाट पुनःडण्डीको लागि फलामका बलेड बनाउने कार्य हुने गरेको अशोक स्टील प्रशासनले जनाएको छ।

सामान्य उद्योगहरूको तुलनामा फलामको कवाड पगाल्ने उद्योगबाट बढी मात्रामा धुवाँहरू निस्कने गरेको र त्यस धुवाँलाई चिम्नी वा अन्य यन्त्रको माध्यले प्रशोधन गरेर उद्योगले वातावरणमा छोड्नु पर्ने नियम रहेको छ।

उद्योगका प्रशासकीय अधिकृत बिनय झाले कवाडहरू पगाल्ने भट्टीबाट निस्कने धुवाँलाई उद्योगमा जडान गरिएको पाइपबाट नै माथि फाल्ने कार्य गरिएको दाबी गरे।

उद्योगले चिम्नीको पाइपबाट धुवाँलाई माथि मात्रै छाड्ने गरेको अवस्थामा कसरी पाइपबाट धुवाँ ननिस्केर उद्योगको छानामुनिबाट मात्रै निस्कने गरेको प्रश्नमा झाले धुवाँ फाल्ने पाइप बिग्रेकोले छानामुनिबाट धुवाँ बाहिर गएको जवाफ दिए।

अशोक स्टीलले दैनिक १० ट्रक भन्दा बढी फलामका कपाडलाई भट्टीमा पागालेर त्यसलाई पुनः फलामका डण्डीहरू बनाउने कार्य गरिँदै आएको उद्योगका अधिकारीहरूले बताएका छन्।

‘सुरुमा उद्योगीहरूले उद्योग दर्ता गराउने बेलामा उद्योगबाट निस्कने प्रदूषण युक्त धुवाँलाई माथि छोड्ने लिखित प्रतिबद्धता गरेका हुन्छन्,’ उद्योग विभागका निर्देशक खगेन्द्रबहादुर बस्नेतले भने, ‘उद्योगीहरूले गरेको प्रतिबद्धता अनुसार नै धुवाँलाई ३२ फिटभन्दा माथि छोड्नु पर्छ।’

अशोक स्टील जस्तै अन्य उद्योगहरूले धुवाँलाई माथि फाल्ने यन्त्रबाट फाल्नुको साटो जथाभावी फालेको अवस्थामा ती उद्योगहरूलाई कारबाही गर्न सकिने बस्नेतले बताए।

वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवालीले कुनै पनि उद्योगबाट निस्कने धुवाँलाई चिम्नी बनाएर चिम्नीको माध्यमले फिल्टराइज गरेर मात्रै उद्योगीहरूले ११ मिटरमाथि फाल्नु पर्ने नियम रहेको बताएका छन्।

उद्योगले चिम्नी बनाएर फाल्ने धुवाँ सेतो हुनु पर्ने नियम रहेको र कुनै उद्योगले वातावरणलाई प्रदूषण गर्ने गरी कालो धुवाँ फाल्न नहुने बताए।

अशोक स्टीलले जथाभावी कालो धुवाँ फालेर वातावरणलाई प्रदूषण गर्ने कार्य गरेको छ भने त्यसलाई उद्योग विभागले कारबाही गर्ने अधिकार रहेको ज्ञवालीले बताए।

भारत लगायतका अन्य देशहरूबाट फलामे डण्डी बनाउनका लागि आयात गरिने फलामको कच्चा पदार्थ महँगो पर्ने भएकाले गर्दा अशोक स्टीलले देशका विभिन्न भागहरूबाट फलमका कवाडहरू खरिद गरी उद्योगभित्र रहेको भट्टीमा त्यसलाई पगालेर पुनः डण्डीको लागि फलाम बनाउने गरेको उद्योगका अधिकरीहरूले बताएका छन्।

धुवाँ प्रदूषण नियन्त्रण प्लान्ट जडान गर्नका लागि उद्योगलाई करोड रुपैयाँ लगानी गर्नु पर्ने अवस्थाले गर्दा पनि अन्य स्टील उद्योगहरूले प्रदूषण नियन्त्रण प्लान्ट जडान नगरी उद्योगबाट निस्कने धुवाँलाई जथाभावी फाल्दै आएको देखिएको छ।

करिडोर अन्तर्गत हुलास, जगदम्बा, साःख, नारायणी, भागवती लगायतका स्टील उद्योगहरू सञ्चालनमा रहेका छन्। नागरिक न्युजबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x