प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘पाँच सय डिप बोरिङ कहाँ र कहिले गाड्ने ?’

मङ्गलबार २० साउन २०८२
काठमाडौं / आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राहत प्याकेज बिना नै सरकारले मधेसलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा आपती जनाएका छन् । उनले मधेसका पीडित किसान, सर्वसधारणलाई तत्काल राहत दिन माग समेत गरेका छन् ।
प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको पाँच सय डिप बोरिङ गाड्ने योजना हावादारी घोषणा भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले दुई हप्ता अघि नै घोषणा गरेको ति डिप बोरिङ कुन आधारमा कहाँ गाड्ने अहिले सम्म गाड्ने कुनै काम नै नभएको साहले बताए ।
‘सरकारले राहत प्याकेज विना नै मधेसलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्यो । न कुनै योजना छ, न त कुनै बजेट नै छ । सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर के सन्देश दिन खोजेको भन्ने म प्रश्न गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘मधेसमा आज मान्छेहरु पीडित छन् । र सरकारले आश्वासन दिइरहेको छ । प्रधानमन्त्रीले घोषणा गरेको पाँच सय डिप बोरिङको बारेमा न सरकारी निकायलाई थाहा छ । सिचाई विभागलाई थाहा छैन, न त खानेपानी निकायलाई नै थाहा छ । म सोध्न चाहन्छु यसरी हावादारी आश्वासनले पीडितलाई राहत दिन्छ कि पीडितलाई झन दुखित बनाउँछ ?’
साथै, राहत प्याकेज बिना नै संकटग्रस्त क्षेत्र घोषणा गरेर सरकारले सार्वजनिक खरिद ऐन प्रभावित गर्न खोजेको उनले बताए । आकस्मिक दफामा गएको बताउदै उनले सरकारको नीति राहत दिने हो कि त्यहाँ भ्रष्टाचार गर्ने हो ? साहले प्रश्न गर्दै सरकारको नियत नै शंकाको घेरामा रहेको प्रश्न उठाए ।
‘कांग्रेस–एमालेका कार्यकर्ताहरु दौडिरहेका छन औपिसहरुमा, मिलेमतोमा मनोमानी गरिरहेको हामी हेरिरहेका छौं । भइरहेका विनियोजित रकम दुरुपयोग भइरहेको संकेत हामीले पाइरहेका छौँ । पारदर्शिता चाहिएको बेला, सुशासन चाहिएको बेला अहिले मनोमानी चलिरहेको छ । अपारदर्शि भइरहेको छ, राहत नदिने, योजना नदिने, बजेट नदिने र भइरहेको बजेटलाई प्रभावित गर्ने, मनपरी गर्ने जस्तो नियत प्रस्ट रुपमा देखिन्छ,’ आजपा अध्यक्ष साहले भने ।
सरकारको यस्तो अपारदर्शि, मनोमानी कामको बारेमा संसद गम्भिर हुनुपर्ने उनले सभामुख देवराज घिमिरेसंग विशेष आग्रह गरेका छन् । सरकारले सुशासन, पीडितलाई राहत दिनका लागि, सदाचारका लागि हो भने सरकारको अहिलेको कदम बदनियतपूर्ण देखिएको टिप्पणी उनले गरे ।
विपत संकटग्रस्त घोषणा गरेर सरकारले भ्रष्टाचार गर्ने नियतबाट प्रेरित भई काम गरिरहेको बताउदै भने, ‘होइन, भने घोषणा गरेको पाँच सय डिप बोरिङ कहाँ गाड्ने ? त्यसको लागि कति बजेट छुटयाएको हो ? अरु प्याकेज के हो ? पीडित भनिसकेपछि अरु राहतका योजना के हो ? एउटा पीडितका लागि उपचार चाहिन्छ । उपचार बिना, उपचारको उपाय बिना कहिल्यै पनि बिरामी निको हुन सक्दैन । बिरामी मरिसकेपछि तपाईको उपचारको काम हुदैन । प्रधानमन्त्रीले घोषणा गरेको दुई हप्ता भयो तर त्यसको कुनै चाजोपाँजो नै छैन ।’
मधेसमा पानीको हाहाकार छ । पानी नपाएर सर्वसधारणदेखी किसानहरु पीडामा छन् । सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको समेत उनले बताए ।
मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर सरकारले अहिलेसम्म राहतको कुनै प्याकेज ल्याउन सकेको छैन् ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE