शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सोयाबिन तेलले उकासेको व्यापार: सवा खर्बले निर्यात बढ्यो

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares
काठमाडौ / सोयाबिन तेलको व्यापारले मुलुकको निर्यात व्यापार उकासिएको छ। एक वर्षकै अवधिमा नेपालबाट एक खर्ब ६ अर्ब ७९ करोड रुपैयाँको सोयाबिन तेल भारत र अस्ट्रेलिया निर्यात भएको छ। एक वर्षमै मुलुकको निर्यात व्यापार सवा खर्बले बढेको छ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा निर्यात करिब ८२ प्रतिशतले वृद्धि भएको छ। यो अहिलेसम्मकै धेरै हो। अघिल्लो आर्थिक वर्ष २०८०/८२ मा एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँका वस्तु निर्यात भएकोमा गत आवमा एक खर्ब २४ अर्ब रुपैयाँ बढेर दुई खर्ब ७७ अर्ब तीन करोड रुपैयाँ मूल्यबराबरका वस्तु निर्यात भएको छ।

निर्यात व्यापारमा उल्लेखनीय वृद्धि हुनुमा नीतिगत सुधारसँगै सोयाबिन तेल प्रमुख कारण भएको निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए। ‘कोडिभपछि डिजिटल प्रोमोसन र अन्तर्राष्ट्रिय प्रदर्शनीले पनि केही निर्यात बढेको छ,’ घिमिरेले भने, ‘निर्यात व्यापारमा केही आशा जागेको छ।’

वैदेशिक व्यापारले आशा जगाएको भए पनि यो टिकाउ नहुन सक्छ। सोयाबिन तेलको कच्चा पदार्थ स्वदेशमा उत्पादन नभई विदेशबाट आयात गरिन्छ। त्यसबाट तेल निकालेर पुनः विदेश निर्यात गरिन्छ। महासंघका अनुसार कूटनीतिक नियोगसँग समन्वय गरेर अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ क्रेतालाई आमन्त्रण गरिएको छ।

निर्यात धेरै हुने वस्तुमा सोयाबिन तथा सनफ्लावर तेल, अलैंची, कार्पेट, फाइबर, चिया, छुर्पीलगायत वस्तु छन्। सोयाबिनपछि १२ अर्ब ३२ करोड रुपैयाँको सनफ्लावर तेल निर्यात भएको छ। सबैभन्दा धेरै निर्यात हुने वस्तुमध्ये तेस्रो स्थानमा अलैंची छ। नेपालको पूर्वी पहाडी जिल्लामा फल्ने अलैंची सात अर्ब ६७ करोड रुपैयाँको निर्यात भएको छ।

त्यसैगरी ११ अर्ब ९२ करोड रुपैयाँको कार्पेट, ४ अर्ब ५९ करोड रुपैयाँको चिया र ३ अर्ब ९२ करोड ७० लाख रुपैयाँबराबरका छुर्पी निर्यात भएको छ।

निर्यात वृद्धि मात्र नभएर आयात पनि बढेको छ। आव २०८१/८२ मा आयात १३.२५ प्रतिशतले बढेको छ। आयात २ खर्ब ११ अर्ब १३ करोड रुपैयाँले बढेको छ। अघिल्लो आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात भएकोमा गत आवमा १८ खर्ब चार अर्ब १२ करोड रुपैयाँको आयात भएको छ। सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ छ। नेपालले इन्डियन आयल कर्पोरेसनबाट इन्धन ल्याएर बिक्री गर्छ। गत आवमा एक खर्ब २८ अर्ब ७६ करोड रुपैयाँको डिजेल, एक खर्ब आठ अर्ब ९५ करोड रुपैयाँको कच्चा सोयाबिन तेल आयात भएको छ।

त्यसैगरी ६४ अर्ब १२ करोड ७४ लाख रुपैयाँको पेट्रोल, ६२ अर्ब ५८ करोड रुपैयाँको खाना पकाउने ग्यास आयात भएको छ। नेपालमा विदेशबाट ठुलो परिमाणमा कृषि तथा पशुजन्य वस्तु पनि आयात हुन्छ।

मुलुकको कुल व्यापार घाटा १५ खर्ब २५ अर्ब नौ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँको व्यापार घाटा रहेकोमा गत आवमा १५ खर्ब २७ अर्ब नौ करोड रुपैयाँ ब्यापार घाटा भएको छ। वैदेशिक व्यापार १९.२४ प्रतिशतले बढेको छ। अघिल्लो आवमा १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँको वैदेशिक व्यापार रहेकोमा गत आवमा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।

नेपालको सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग छ। भारतसँग आठ खर्ब ४६ अर्ब ५१ करोड रुपैयाँको व्यापार घाटा छ। नेपालबाट दुई खर्ब २४ अर्ब ६८ करोड रुपैयाँका वस्तु भारत निर्यात भएको छ भने भारतबाट १० खर्ब ७१ अर्ब १९ करोडको आयात भएको छ।

त्यसैगरी अर्को छिमेकी चीनसँगको व्यापार घाटा तीन खर्ब ३८ अर्ब ४७ करोड रुपैयाँ छ। चीनबाट तीन खर्ब ४१ अर्ब रुपैयाँको वस्तु आयात भएको छ भने दुई अर्ब ६३ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ।नागरिक न्युजबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x