शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदै

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares
सोमबार ३ भदौ २०८१

श्रावण शुक्ल पूर्णिमा तिथिमा वैदिक विधिपूर्वक अभिमन्त्रण गरिएको नयाँ यज्ञोपवित ब्रह्मसूत्र वा जनै धारण गरिने हुँदा यस पूर्णिमालाई जनैपूर्णिमा भन्ने गरिन्छ । धार्मिक तथा पितृकार्य गर्नका लागि नभईनहुने जनै शास्त्रीय विधिपूर्वक बाटेर तयार पारीे यस दिन वैदिक मन्त्रले मन्तरेर धारण गर्ने परम्परा छ ।

यस दिन बिहानै जलाशयमा गई जौ कुश तील तुलसीमठको माटो जस्ता प्राकृतिक पवित्र वस्तुको प्रयोग गरी उपाकर्मका रुपमा स्नान गरेर सप्तर्षिसहित ऋषिमहर्षिहरुलाई तर्पण दिइन्छ । ऋषिहरुले नै जनैका सूत्रको साँस्कृतिक तथा आध्यात्मिक महत्व र अर्थबोध गराई व्रतबन्धपछि यसको धारण गर्नुपर्ने संस्कार बसालेका हुन् ।

जनैपूर्णिमाका दिन उनीहरुप्रति श्रद्धापूर्वक तर्पण गरिने हुँदा यस पर्वलाई ऋषितर्पणी भन्ने गरिन्छ । यसै दिन सम्भावित विघ्नबाधाबाट सुरक्षित हुने विश्वासका साथ विधिपूर्वक मन्त्रण गरिएको रुक्षासूत्र वा रक्षाबन्धन बाँध्ने गरिन्छ । तराईक्षेत्रमा यसै दिन दिदीबहिनीको हातबाट राखी बाध्ने चलन छ । यस दिन विभिन्न नौ थरीका गेडागुडी भिजाई टुसाएपछि पकाएर तयार पारिने विशेष परिकार क्वाँटी खाने चलन छ । आजै देशका विभिन्न शिक्षालय तथा प्रतिष्ठानमा संस्कृतभाषको सम्मानमा संस्कृत दिवस मनाइन्छ ।

जनैपूर्णिमाका अवसरमा आज देशभरिका महादेव मन्दिर,कुण्ड तथा तीर्थहरुमा मेला भर्ने चलन छ । काठमाडौको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वरमा स्नान गरी जनै लगाउने र रक्षाबन्धन गर्ने प्रचलन छ । यसै गरी रसुवाको गोसाइँकुण्डमा पनि स्नान,ध्यान, साधना गर्ने गरिन्छ । गोसाइँकुण्डको जल भित्रभित्रै बगेर ललितपुरको कुम्भेश्वरस्थित कुण्डमा निस्कने जनविश्वास छ ।

जनकपुरको गंगाधनुषसागर, सोलुखुम्बुको दूधकुण्ड,संखुवासभाको सभापोखरी,सिन्धुपाल्चोकको पाँचपोखरी,लम्जुङको दूधपोखरी, जुम्लाको दानसाँघु,डडेलधुराको भागेश्वरजाँत,खप्तडक्षेत्रको त्रिवेणी तथा बडिमालिका लगायतका तीर्थमा जनैपूर्णिमाको मेला लाग्ने गर्दछ ।

जनै पूर्णिमाको अवसरमा गोसाइँकुण्ड, पाँचपोखरी शैलुङलगायतका क्षेत्रमा तान्त्रिक विद्याको साधना र सिद्धिका लागि लामा तथा झाँक्रीहरुले विधिपूर्वक पूजाआजा र परिक्रमा गर्ने गर्दछन् । जनतासमाचारबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x