एचकेएच क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने उच्च

काठमाडौं । यस वर्ष हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा औसतभन्दा कम मनसुनी वर्षा हुने प्रक्षेपण गरिएको छ। तर वर्षा कम भए पनि बाढी, पहिरो, खडेरी तथा अन्य प्राकृतिक विपद्को जोखिम भने यथावत् रहने अध्ययनले देखाएको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सार्वजनिक गरेको ‘एचकेएच मनसुन आउटलुक २०२६’ अनुसार नेपालसहित दक्षिण एसियाका अधिकांश क्षेत्रमा मनसुन अवधिभर औसतभन्दा कम वर्षा हुने तथा तापक्रम सामान्यभन्दा बढी रहने सम्भावना छ।
विशेषज्ञहरूले कमजोर मनसुन भए पनि छोटो समयमा अत्यधिक वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढी र पहिरोको जोखिम बढ्ने चेतावनी दिएका छन्। लामो समयको सुक्खापछि हुने मूसलधारे वर्षाले पहाडी तथा हिमाली क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्ने बताइएको छ।
अध्ययनले हिमपातको स्थायित्व घट्दै गएको, जलस्रोतमा दबाब बढ्ने, भू–जल पुनर्भरण प्रभावित हुने तथा एउटै मौसममा खडेरी र बाढी दुवै समस्या देखिन सक्ने उल्लेख गरेको छ। बढ्दो तापक्रमका कारण खानेपानीको उपलब्धतामा कमी आउनुका साथै गर्मीजन्य समस्या पनि बढ्न सक्ने अनुमान गरिएको छ।
जलवायु परिवर्तनका कारण सिर्जित यी चुनौतीहरूले खाद्य सुरक्षा, ऊर्जा आपूर्ति, पर्यटन क्षेत्र तथा जनजीवनमा व्यापक प्रभाव पार्न सक्ने विज्ञहरूको भनाइ छ। उनीहरूले विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोण अपनाउँदै पूर्वानुमानमा आधारित पूर्वतयारी र स्थानीय तहसम्म प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।
नेपालसहित आठ देशमा फैलिएको हिन्दुकुश–हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको खाद्य, पानी र ऊर्जा सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र मानिन्छ। त्यसैले मनसुनको बढ्दो अनिश्चिततासँग जुध्न सरकार, प्राविधिक निकाय र स्थानीय समुदायबीच बलियो सहकार्य अपरिहार्य रहेको अध्ययनले निष्कर्ष निकालेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE