स्कटल्यान्डविरुद्ध नेपाल बदला लिने लक्ष्यमा, आज निर्णायक भिडन्त

सोमबार ४ जेठ २०८३
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
सिरिजको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग डीएल मेथडका आधारमा २ रनले पराजित भएको थियो। त्यसैले आजको खेलमा नेपाली टोली हारको बदला लिँदै महत्त्वपूर्ण दुई अंक जोड्ने लक्ष्यमा मैदान उत्रनेछ।
शनिबार अमेरिकाविरुद्ध ९ विकेटको शानदार जित निकालेको नेपाल उच्च मनोबलमा छ। उक्त खेलमा ओपनर कुशल भुर्तेलले शतकीय पारी खेलेका थिए भने आशिफ शेखले अर्धशतक पूरा गरेका थिए। इशान पाण्डेको प्रदर्शन पनि सन्तोषजनक रह्यो।
मुख्य प्रशिक्षक स्टुअर्ट लले अमेरिकाविरुद्ध खेलेको प्लेइङ–११ लाई नै निरन्तरता दिन सक्ने अनुमान गरिएको छ। यद्यपि टोलीको रणनीतिअनुसार परिवर्तन भए करण केसीलाई सोमपाल कामीको स्थानमा अवसर मिल्न सक्ने सम्भावना रहेको छ।
लिग–२ को अंक तालिकामा सुधार गर्न पनि नेपालका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ। २६ खेल खेलेको नेपाल २० अंकसहित सातौँ स्थानमा रहेको छ। नेपालले ९ खेलमा जित, १५ खेलमा हार तथा २ खेलमा अंक बाँडेको छ।
यता स्कटल्यान्ड भने ३० खेलबाट ३८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ। अमेरिका २६ खेलबाट ३६ अंकसहित दोस्रो स्थानमा छ।
नेपालले बाँकी खेलमा सकारात्मक नतिजा निकाल्दै शीर्ष ६ भित्र रहेर एकदिवसीय मान्यता जोगाउने लक्ष्य राखेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE