अन्तर्राष्ट्रिय परिवार दिवस आज : दिगो विकास र सामाजिक समावेशितामा परिवारको भूमिका जोड

शुक्रबार १ जेठ २०८३
काठमाडौं । आज विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ । दिगो विकास, सामाजिक समावेशिता तथा परिवारको सशक्त भूमिकालाई केन्द्रमा राखेर यो दिवस मनाउन लागिएको हो ।
यस अवसरमा संयुक्त राष्ट्रसङ्घ को प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल आयोजना गरिएको छ ।
राष्ट्रसङ्घले सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्न थालेको थियो । आर्थिक तथा सामाजिक परिषद्को सिफारिसमा सामाजिक विकास आयोगले सन् १९८३ मा ‘विकास प्रक्रियामा परिवारको भूमिका’ सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता र समाधानका उपायबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्न पहल गरेको थियो ।
त्यसपछि सन् १९८५ मा परिषद्ले महासभालाई ‘विकास प्रक्रियामा परिवार’ विषयलाई औपचारिक कार्यसूचीमा समावेश गर्न सुझाव दिएको थियो । सदस्य राष्ट्रहरूको धारणा र प्रस्तावका आधारमा परिवारको अवस्था सुधार, कल्याण प्रवर्द्धन तथा सामाजिक विकासका लागि अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्ने प्रयास अघि बढाइएको थियो ।
संयुक्त राष्ट्रसङ्घ महासभा ले सन् १९८९ मा ‘अन्तर्राष्ट्रिय परिवार वर्ष’ घोषणा गरेको थियो । त्यसपछि सन् १९९३ मा पारित प्रस्तावअनुसार हरेक वर्ष मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय गरिएको हो । यो दिवस सन् १९९४ देखि औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो ।
अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसांख्यिक विषयबारे जनचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ । साथै, सन् २०१५ मा अनुमोदित दिगो विकास लक्ष्य हासिल गर्न परिवारमैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ ।
गरिबी न्यूनीकरण, विभेद अन्त्य, सामाजिक सुरक्षा तथा समावेशी विकासजस्ता लक्ष्य हासिल गर्न परिवारको भूमिकालाई विशेष महत्व दिइएको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE