डा. ल्हारक्याल लामाद्वारा भ्रामक समाचारप्रति आपत्ति, प्रमाण पेश गर्न चुनौती

बुधबार २३ बैशाख २०८३
काठमाडौं । लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूविरुद्ध नियोजित रूपमा भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा लामाले केही अनलाइन मिडियाले आफ्नो ५० अर्बभन्दा बढीको सम्पत्ति रहेको भनी प्रकाशित गरेको समाचारलाई कपोलकल्पित र असत्य भएको बताएका छन्। उनले यस्तो दाबी गर्ने पक्षलाई त्यसको ठोस प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन्।
“यदि मेरो नाममा ५० अर्बभन्दा बढीको सम्पत्ति प्रमाणित हुन्छ भने त्यसलाई तत्काल राष्ट्रियकरण गर्न म राज्यलाई चुनौती दिन्छु,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। तर तथ्यहीन समाचारमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
लामाले आफ्नो सम्पत्ति तथा बैंक लकरमा गोली भेटिएको पुरानो विषयलाई पुनः उछालिएकोप्रति पनि आपत्ति जनाएका छन्। ती मुद्दाहरू अदालतबाट अन्तिम रूपमा टुंगो लागिसकेको र अदालतले सफाइ दिइसकेको विषयलाई पुनः उठाएर ‘मिडिया ट्रायल’ गर्नु पूर्वाग्रही र निन्दनीय भएको उनको भनाइ छ।
लुम्बिनी विकास कोषमा करिब तीन वर्ष उपाध्यक्ष रहँदा आफूले कुनै सेवा–सुविधा, तलब वा भत्ता नलिई आफ्नै खर्चमा काम गरेको दाबी गर्दै उनले आफू कहिल्यै पनि गैरकानूनी गतिविधि, भ्रष्टाचार वा ठगीमा संलग्न नरहेको जिकिर गरेका छन्।
दोहोरो नागरिकता र राहदानीसम्बन्धी आरोपहरूलाई पनि आधारहीन बताउँदै लामाले सम्बन्धित मिडियालाई तुरुन्त गल्ती सच्याएर खण्डन प्रकाशित गर्न आग्रह गरेका छन्। अन्यथा, आफ्नो प्रतिष्ठामा पुगेको क्षतिविरुद्ध मानहानि लगायतका कानूनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE