सीता जयन्तीलाई राष्ट्रिय पर्व घोषणा गर्न प्रभु साहको माग

काठमाडौं, १२ वैशाख । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको गौरव तथा राष्ट्रिय विभूति माता सीताको जन्मोत्सवलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक विदासहित राष्ट्रिय पर्वको रुपमा मनाउन सरकारसँग माग गरेका छन्। शनिबार काठमाडौंको कोटेश्वरमा आजपा निकट आम महिला मोर्चा, काठमाडौं उपत्यका विशेष समितिले आयोजना गरेको जानकी जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यस्तो माग राखेका हुन्। उनले भने, “हामी रामनवमी र कृष्ण अष्टमी मनाउँछौं, तर आफ्नै देश नेपालको गौरव माता सीताको जन्मोत्सवलाई विर्सिरहेका छौं। सीता जन्मोत्सवलाई राष्ट्रिय गौरवका रूपमा भव्य तरिकाले मनाउनुपर्छ।” साहले सरकारलाई सीता जयन्तीलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक विदासहित राष्ट्रिय पर्व घोषणा गर्न विशेष आग्रह गरे। उनका अनुसार माता सीताको जीवन केवल धार्मिक आस्थाको विषय मात्र नभई सामाजिक रूपान्तरणको प्रेरणादायी स्रोतसमेत हो। उनले सीतामाताले देखाएको सहनशीलता, निष्ठा, आत्मसम्मान र दृढताले समाजलाई लैङ्गिक समानता, सामाजिक न्याय तथा सभ्य संस्कृतिको निर्माणतर्फ अग्रसर गराउने बताएका छन्। साहले आफू केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री रहँदा पनि सीता जयन्तीलाई सार्वजनिक विदासहित राष्ट्रिय पर्वको रुपमा मनाउने प्रस्ताव राखेको तर त्यो अस्वीकार भएको उल्लेख गरे। उनले हाल पुनः सो मागलाई जोडतोडका साथ उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। कार्यक्रम आम महिला मोर्चाका उपाध्यक्ष तथा काठमाडौं उपत्यका विशेष समितिका इन्चार्ज रञ्जुकुमारी साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा आजपाका प्रवक्ता सुभाष साह, काठमाडौं उपत्यका अध्यक्ष विजय यादव निर्विज, सचिव उपेन्द्र साह, सांस्कृतिक मोर्चाका अध्यक्ष सरिता साह, महिला मोर्चाका महासचिव सीमा जयसवाललगायत विभिन्न नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE