आज आमाको मुख हेर्ने पर्व: श्रद्धा, सम्मान र कृतज्ञतासहित देशभर मनाइँदै

शुक्रबार ४ बैशाख २०८३
काठमाडौं / प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ। यस अवसरमा छोराछोरीले जन्मदिने आमालाई मीठा परिकार खुवाउने, नयाँ लुगा लगाइदिने र आशीर्वाद थाप्ने परम्परा छ।
वैदिक परम्पराअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च स्थानमा रहने भएकीले यो दिनलाई आमाप्रति कृतज्ञता प्रकट गर्ने विशेष अवसरका रूपमा लिइन्छ। बिहानै स्नान गरी आमाको सम्मान गर्ने र उनको दीर्घायु तथा सुख–समृद्धिको कामना गर्ने चलन नेपाली समाजमा व्यापक रहेको छ।
आमा नभएका व्यक्तिहरूले भने दिवंगत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा ब्राह्मणलाई भोजन गराउने गर्छन्। धार्मिक मान्यताअनुसार यस दिन गरिएको श्राद्ध, तर्पण र सिदादानबाट दिवंगत आमाको आत्मा सन्तुष्ट भई सन्तानलाई आशीर्वाद दिने विश्वास रहेको छ।
धर्मशास्त्रविद्हरूका अनुसार सन्तानलाई गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अत्यन्त उच्च मानिन्छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने शास्त्रीय वाक्यले पनि आमा र जन्मभूमिको महत्वलाई उजागर गर्छ।
यसै अवसरमा मातातीर्थ क्षेत्रमा विशेष मेला लागेको छ। मेलामा सहभागी हुन हजारौं श्रद्धालुहरू पुगेका छन् भने स्नान, तर्पण र पूजाआजा गर्ने क्रम जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।
यो पर्वले नेपाली समाजमा आमाप्रतिको सम्मान, माया र कृतज्ञताको भावलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE