साउदी अरबको दाबी : १८ वटा ड्रोन खसालियो

बिहिवार २८ फागुन २०८२
काठमाडौँ / साउदी अरबको रक्षा मन्त्रालयले आफ्नो देशको पूर्वी क्षेत्रमा उडिरहेका १८ वटा ड्रोन खसालिएको दाबी गरेको छ।
साउदी प्रेस एजेन्सीका अनुसार पछिल्ला केही दिनदेखि प्रहार भइरहेका ड्रोनहरूलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत बीचमै रोकेर नष्ट गरिएको हो। यद्यपि ती ड्रोन कसले प्रहार गरेको हो भन्ने विषयमा साउदी अधिकारीहरूले स्पष्ट जानकारी दिएका छैनन्।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त हवाई आक्रमण गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव चर्किँदै गएको छ। त्यसपछि इरानले इजरायल र अमेरिकी सैन्य अड्डा रहेका खाडीका देशहरूतर्फ ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरिरहेको बताइएको छ।
इरानका अनुसार अमेरिका–इजरायलको आक्रमणबाट हालसम्म एक हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने आठ हजारभन्दा बढी घर ध्वस्त भएका छन्। संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका करिब नौ हजार ६०० आवासीय क्षेत्रमा आक्रमण गरिएको छ। हमलामा घर, बजार, अस्पताल, स्वास्थ्य केन्द्र तथा विद्यालयसमेत प्रभावित भएका छन्।
यसैबीच इरानले पनि इजरायलका हाइफा, जेरुसेलम र तेल अभिभ शहरमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानको आक्रमणबाट अमेरिकी सेनाका सात जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE