चुनाव जसले जिते पनि सन्तान गुमाएकी आमाले हार्नुहुन्न : गगन कुमार थापा

आइतबार १७ फागुन २०८२
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आसन्न निर्वाचन केवल दलगत जित–हारको प्रतिस्पर्धा नभई देशको सुशासन र नागरिकको भरोसासँग जोडिएको विषय भएको बताएका छन्।
आइतबार कीर्तिपुरमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै थापाले भदौ २३ र २४ मा सन्तान गुमाएका आमाबुवाको पीडा स्मरण गर्दै, यो चुनाव जसले जिते पनि ती आमाले हार्नु नहुने धारणा राखे।
उनले भने, “यो चुनावमा को जित्छ, को हार्छ भन्ने कुरा दलका लागि महत्वपूर्ण हुन सक्छ। तर, जो जिते पनि भदौ २३ मा आफ्नो सन्तान गुमाएको आमाले यो चुनावमा हार्नु हुँदैन।”
थापाले निर्वाचनपछि देश सुशासन, उत्तरदायित्व र विधिको शासनको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिए। “चुनावपछि देश जुन बाटोमा जान्छ, कम्तीमा मेरो छोरा–छोरीले दिएको सहादत अर्थपूर्ण भएछ, देश सुशासनको बाटोमा हिँडेछ भन्ने भरोसा ती आमालाई हुनुपर्छ,” उनले स्पष्ट पारे।
उनका अनुसार विशेष परिस्थितिमा हुन लागेको यो निर्वाचनले राजनीतिक दलहरूलाई अझ जिम्मेवार र प्रतिबद्ध बन्ने अवसर दिएको छ। उनले मतदातालाई सचेत ढंगले मतदान गर्न आह्वान गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि सबै पक्षले भूमिका निर्वाह गर्नुपर्ने बताए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE