चार पूर्व प्रधानसेनापतिहरू भारत प्रस्थान

काठमाडौं, फागुन १५ – नेपाली सेनाका चार पूर्व प्रधानसेनापतिहरू भारत प्रस्थान गरेका छन्। भारतीय सेनाले आयोजना गर्न लागेको १०औँ ‘चीफ्स कन्क्लेभ’मा सहभागी हुन उनीहरू नयाँ दिल्ली पुगेका हुन्।
भारतीय सेनाले हरेक वर्ष आयोजना गर्ने सुरक्षा–सम्बन्धी उक्त कन्क्लेभ यसपटक सेमिनार स्वरूप सञ्चालन हुन लागेको हो। कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापा, प्यारजंग थापा, राजेन्द्र क्षेत्री र गौरवशमशेर राणा सहभागी भएका छन्।
कन्क्लेभका क्रममा नेपाल र भारतका पूर्व प्रधानसेनापतिहरूलाई विभिन्न सैन्य अपरेसन, संरचनात्मक सुधार तथा आधुनिक युद्धका चुनौतीबारे जानकारी गराइने जनाइएको छ। भारतीय प्रधानसेनापति उपेन्द्र द्विवेदी तथा अन्य उच्च अधिकारीहरूले पछिल्ला वर्षहरूमा सेनामा गरिएका रूपान्तरणका विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको छ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार यो कार्यक्रम भारतको सेना दिवसको अवसरमा आयोजना हुने नियमित सैन्य कूटनीतिक गतिविधि हो। गत वर्ष भारतीय पूर्व प्रधानसेनापतिहरू नेपाल आएका थिए भने यसपटक नेपाललाई आमन्त्रण गरिएको हो।
नेपाल र भारतका प्रधानसेनापतिहरू एक–अर्काको सेनाका मानार्थ प्रधानसेनापति हुने परम्परा रही आएको छ। दुवै देशबीच संयुक्त सैन्य अभ्यास तथा नियमित संवादमार्फत सैनिक सम्बन्ध सुदृढ हुँदै आएको छ। यसपटकको कन्क्लेभलाई पनि दुई देशबीचको सैन्य सहकार्य थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE