झापा–५ मा दुर्लभ संयोग: प्रत्यक्ष मतदानबाट ‘भावी प्रधानमन्त्री’ छनोटको बहस

शुक्रबार १५ फागुन २०८२
झापा / प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा–५ देशकै सबैभन्दा चर्चित निर्वाचन क्षेत्र बनेको छ। केपी शर्मा ओली र बालेन्द्र शाहबीचको प्रतिस्पर्धाले यस क्षेत्रलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय चासोको केन्द्र बनाएको छ।
एमाले अध्यक्ष ओली यसअघि पटक–पटक प्रधानमन्त्री भइसकेका नेता हुन् भने काठमाडौं महानगरपालिकाका मेयरसमेत रहेका शाह ‘परिवर्तन’ र ‘पारदर्शिता’को एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्। दुवै नेताको प्रतिस्पर्धाले झापा–५ लाई सत्ता समीकरणको केन्द्रबिन्दु बनाएको छ। मतदाताले यसपटक केवल सांसद मात्र होइन, सम्भावित प्रधानमन्त्रीको राजनीतिक भविष्यसमेत तय गर्ने चर्चा छ।
२२ उम्मेदवार, तर मुख्य भिडन्त दुईबीच
झापा–५ मा कुल २२ जना उम्मेदवार चुनावी मैदानमा छन्। यद्यपि प्रतिस्पर्धा मुख्यतः ओली र शाहबीच केन्द्रित देखिन्छ। विश्लेषकहरूका अनुसार यहाँबाट पराजित हुने दाबेदारको प्रधानमन्त्री बन्ने दौडमा ठूलो धक्का लाग्नेछ। यद्यपि अन्य उम्मेदवारले अप्रत्याशित परिणाम ल्याए सत्ता समीकरण नै फेरिन सक्ने आकलन गरिएको छ।
दमकको मत निर्णायक
१ लाख ६३ हजार ३ सय ७९ मतदाता रहेको यस क्षेत्रमा दमक नगरपालिका निर्णायक मानिएको छ। १० वडामा रहेका ६५ हजार ९ सय ९७ मतदाताले अन्तिम परिणाममा प्रभाव पार्ने आँकलन छ। विगतमा एमालेको प्रभाव क्षेत्र मानिएको दमकमा यसपटक युवा मतदाताको झुकाव परिवर्तनतर्फ देखिएको चर्चा छ।
गौरादह र गाउँपालिकाको समीकरण
गौरादह नगरपालिकाका ४१ हजार ४ सय ७५ मतदातामा पुराना दलप्रति असन्तुष्टि देखिए पनि दुवै प्रमुख उम्मेदवारको प्रभाव देखिन्छ। कमल गाउँपालिकामा एमालेको संगठनात्मक पकड बलियो मानिन्छ भने गौरीगञ्जमा कृषक तथा अल्पसंख्यक समुदायका मुद्दा निर्णायक बन्न सक्ने अनुमान छ।
२०७९ को स्थानीय तह निर्वाचनमा एमालेले बहुमत वडाध्यक्ष जितेको भए पनि प्रतिनिधिसभा निर्वाचन फरक समीकरणमा हुने भएकाले यसलाई अन्तिम संकेतका रूपमा लिन सकिँदैन।
अनुभव बनाम परिवर्तन
ओली आफूलाई अनुभवी र स्थिर नेतृत्वको विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन्। विकास, पूर्वाधार र राष्ट्रिय स्वाभिमानका मुद्दामा उनले मत मागिरहेका छन्।
शाह भने युवा पुस्ताको प्रतिनिधित्व गर्दै भ्रष्टाचारविरुद्ध कठोर कदम र सेवा प्रवाह सुधारको प्रतिबद्धतासहित अघि बढिरहेका छन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा झापा–५ केवल एउटा निर्वाचन क्षेत्र नभई राष्ट्रिय राजनीतिका लागि ‘पावर टेस्ट’ को रूपमा उभिएको छ। २१ फागुनको मत परिणामले भावी सत्ता समीकरणमा निर्णायक प्रभाव पार्ने निश्चित देखिन्छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE