शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

खानेतेलको मूल्य अस्वाभाविक वृद्धि, उपभोक्ता र खुद्रा व्यापारी दुवै मारमा

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

 शनिबार १७ माघ २०८२
काठमाडौ / नेपालमा भटमास र सूर्यमुखी खानेतेलको मूल्य अस्वाभाविक रूपमा बढेको छ। नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक सातामा खानेतेलको मूल्य प्रतिलिटर ४० रुपैयाँसम्म बढेको हो। माघको पहिलो सातासम्म प्रतिलिटर २४० रुपैयाँमा बिक्री हुँदै आएको खानेतेल हाल २८५ देखि २९० रुपैयाँसम्म पुगेको छ।
सङ्घका कोषाध्यक्ष वसन्त महर्जनले दिनदिनै बढ्ने मूल्यका कारण खुद्रा व्यापारीलाई कारोबार गर्नै समस्या भएको गुनासो गर्नुभयो। सानो पुँजीमा उपभोक्ताको घरछेउ सेवा दिँदै आएका व्यापारीले निरन्तर मूल्यवृद्धिको जवाफ उपभोक्तालाई दिन गाह्रो भएको उहाँको भनाइ छ।
सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश खड्गीले मूल्यवृद्धिका कारण खुद्रा व्यापारी दोहोरो मारमा परेको बताउनुभयो। “थोकमा किन्दा बढेको मूल्य तिर्नुपर्छ, उपभोक्ता महँगो भयो भनेर गुनासो गर्छन्, फेरि सरकारी निकायले पनि हामीमाथि नै अनुगमन र कारबाही गर्छ,” उहाँले भन्नुभयो।
नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले नेपालका तेल उद्योगीले भारततर्फ निर्यात बढाएपछि आन्तरिक बजारमा मूल्य बढेको बताउनुभयो। भारतमा खानेतेल महँगो भएपछि नेपालमा उत्पादन भएको तेल त्यतै निर्यात हुन थालेको उहाँको दाबी छ। यद्यपि, खुला बजार अर्थतन्त्रमा सीमित उत्पादन र बढ्दो मागका कारण मूल्य बढ्नु स्वाभाविक भएको उहाँको तर्क छ।
तेल उत्पादक उद्योगीहरूले अमेरिकी डलरको मूल्यवृद्धि र कच्चा पदार्थ महँगिएको कारण देखाउँदै खानेतेलको मूल्य बढेको स्वीकार गरेका छन्। तर उपभोक्ता अधिकारकर्मीहरूले यसलाई बहानामात्र भएको आरोप लगाएका छन्।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा नेपालबाट करिब ६० अर्ब रुपैयाँ बराबरको भटमास र सूर्यमुखी तेल निर्यात भएको छ। देशभित्र पर्याप्त उत्पादन हुँदाहुँदै पनि निर्यात प्राथमिकतामा परेपछि नेपाली उपभोक्ता महँगीको मारमा परेको अधिकारकर्मीहरूको भनाइ छ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले कच्चा पदार्थ महँगिने हल्ला मात्र सुन्नासाथ मूल्य बढाउनु उद्योगीको बदमासी भएको टिप्पणी गर्नुभयो। उहाँले सरकारी नियमनकारी निकाय मुकदर्शक बनेको आरोपसमेत लगाउनुभयो।
यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले खानेतेलको मूल्यवृद्धिबारे गुनासो आएपछि बजार अनुगमन भइरहेको जानकारी दिनुभयो। दिनदिनै मूल्य बढ्नु स्वाभाविक नदेखिएकाले तेल उत्पादक उद्योगीलाई विभागमा उपस्थित हुन पत्राचार गरिएको उहाँले बताउनुभयो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x