बुधबार १९ कार्तिक २०८२
काठमाडौ / जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तय गर्नुपर्ने माग गरेका छन् । जसपा नेपालको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष यादवले महिला र दलित समुदायका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्न पनि माग गरेका छन् ।
अध्यक्ष यादवले केन्द्रीय कमिटीमा पेस गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘समान जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था गर्न निर्वाचन क्षेत्रको पुनः निर्धारण गर्नुका साथै महिला र दलित समुदायका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गरिनुपर्छ ।’
त्यसैगरी, समान जनसंख्याका आधारमा संसदीय निर्वाचन क्षेत्र निर्धारण गर्दा भौगोलिक रूपमा विकट पहाडी तथा हिमाली क्षेत्रमा जनताको न्यायोचित प्रतिनिधित्वको सुनिश्चित गर्नुपर्ने उल्लेख गरेका छन् । त्यसैगरी, आर्थिक, सामाजिक र राजनीतिक रूपले बहिष्करणमा पारिएका वा परेका सीमान्तकृत समुदायहरू मधेशी, आदिवासी जनजाति, थारू, दलित, पिछडा वर्ग, महिला, मुस्लिमलगायत अल्पसंख्यक समुदायहरूका लागि स्रोत साधनमा पहुँच, सत्ता र शक्तिमा समानुपातिक प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभूति गर्नुपर्ने यादवको तर्क छ ।
अध्यक्ष यादवले २१ फागुनको चुनावलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउने वातावरण बनाउनुपर्ने बताए । साथै, सरकारले राजनीतिक दलहरूसँग राजनीतिक संवाद र छलफल निरन्तर रूपमा गरिरहनुपर्ने यादवको माग छ । स्रोत शिलापत्र
WRITE COMMENTS FOR THIS ARTICLE